नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न राष्ट्र हो । यही विविधताले हाम्रो राष्ट्रिय पहिचानलाई सुन्दर बनाएको छ । हिमाल, पहाड र तराईलाई जोड्ने केवल भौगोलिक सीमारेखा मात्रले नभइ परस्पर सम्मान, सहिष्णुता, विश्वास र सामाजिक सद्भावको भावना पनि हो भन्नुमा सान्र्दभिकता हुन्छ । यही सद्भावले हामीलाई अनेक राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र सामाजिक चुनौतीहरू पार गर्न बल दिएको छ । तर पछिल्ला केही समययता समाजमा देखापरेका हिंसा, साम्प्रदायिक तनाव, विभाजनकारी अभिव्यक्ति तथा सामाजिक सञ्जाल मार्फत फैलाइएका भ्रमपूर्ण सूचनाले हाम्रो सामाजिक एकतालाई चुनौती दिइरहेका पार्ईएको छ । यस्तो अवस्थामा सामाजिक सद्भाव, मानवता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण गर्नु प्रत्येक नागरिकको साझा जिम्मेवारी बनेको छ ।
साँचो सुख अरूलाई दुःख दिएर प्राप्त हुँदैन । कसैको अधिकार खोसेर वा कुनै समुदायलाई कमजोर बनाएर कसैले पनि स्थायी शान्ति प्राप्त गर्न सकेको ईतिहास भेटिएको छैन । वास्तविक खुशी अरूको जीवनमा सम्मान, सुरक्षा र मुस्कान थप्न सक्दा प्राप्त हुन्छ। एउटा असल शब्द, सानो सहयोग, सम्मानपूर्ण व्यवहार वा सहानुभूतिले समाजलाई जोड्ने काम गर्छ। त्यसैले हामीले प्रतिस्पर्धाभन्दा सहयोग, घृणाभन्दा प्रेम र विभाजनभन्दा एकताको संस्कार विकास गर्नु आजको आबश्यकता हो ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था, विश्वास र संस्कृतिको स्वतन्त्र अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ । यसको अर्थ आफ्नो धर्म मान्ने स्वतन्त्रता जति महत्वपूर्ण छ, अरूको धर्म र विश्वासको सम्मान गर्ने दायित्व पनि त्यति नै महत्वपूर्ण हुन्छ । लोकतान्त्रिक समाजमा विचार फरक हुन सक्छन्, राजनीतिक दृष्टिकोण फरक हुन सक्छ, धार्मिक अभ्यास फरक हुन सक्छ, तर त्यसका आधारमा द्वेष, हिंसा वा विभाजन सिर्जना गर्नु कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन।
हालै सुनसरी, सिरहा लगायत तराईका विभिन्न जिल्लामा भएका हिंसात्मक तथा साम्प्रदायिक तनावका घटनाले सम्पूर्ण समाजलाई चिन्तित बनाएको छ । यस्ता घटनाले कुनै एक समुदायलाई मात्र होइन, सम्पूर्ण राष्ट्रलाई कमजोर बनाउँने गर्दछ । हिंसाको आगो कहिल्यै पनि एउटा घरमा मात्र सीमित रहँदैन; त्यसले विस्तारै समाजको विश्वास, सम्बन्ध र भविष्यलाई नै क्षति पु¥याउँने गर्दछ । त्यसैले कुनै पनि विवादको समाधान संवाद, कानुनी शासन, सहिष्णुता र लोकतान्त्रिक प्रक्रियाबाट खोज्नु नै सभ्य समाजको पहिचान हो भन्नुमा अत्युक्ति नहोला ।
आजको डिजिटल युगमा सामाजिक सञ्जाल सूचना आदानप्रदानको प्रभावकारी माध्यम बनेको छ। तर यही माध्यम गलत सूचना, अफवाह, घृणा र उत्तेजना फैलाउने साधन पनि बन्दै गएको छ। धेरैजसो सामाजिक सञ्जालका एल्गोरिदमहरूले सत्यभन्दा सनसनीलाई प्राथमिकता दिईरहेको पाईएको छ । यसले मानिसको भावनालाई उत्तेजित बनाउने सामग्री छिटो फैलाउँछ। त्यसैले कुनै पनि समाचार वा सूचना देख्नेबित्तिकै विश्वास गर्नु उचित हुँदैन। आधिकारिक स्रोत, विश्वसनीय सञ्चारमाध्यम र प्रमाणित सूचनालाई मात्र आधार बनाउने बानी बसाल्नु आवश्यक छ । गलत सूचना शेयर गर्नु पनि समाजप्रतिको गैरजिम्मेवारी र कानुनी अपराध हो ।
बौद्धिक संस्कारको विकास आजको अर्को महत्वपूर्ण आवश्यकता हो। शिक्षित हुनु मात्र पर्याप्त हुँदैन; विवेकशील, जिम्मेवार र नैतिक नागरिक बन्नु अझ आजको आबश्यकता हो । बौद्धिक संस्कारले मानिसलाई तथ्य र भ्रम छुट्याउन, उत्तेजनाभन्दा विवेकलाई प्राथमिकता दिन तथा असहमतिलाई पनि सम्मानपूर्वक स्वीकार गर्न सिकाउँछ। लोकतन्त्रको सुन्दरता विविध विचारमा हुन्छ, तर ती विचारहरू सभ्य संवाद र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ।
नागरिक अधिकारसँगै नागरिक कर्तव्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ। संविधानले दिएका अधिकारको उपयोग गर्दै समाजमा शान्ति कायम राख्ने, कानुनको सम्मान गर्ने, सामाजिक सद्भाव जोगाउने, विविधताको सम्मान गर्ने र गलत सूचनाको प्रतिरोध गर्ने जिम्मेवारी प्रत्येक नागरिकको हो। राज्यले मात्र समाजलाई सुरक्षित बनाउन सक्दैन। परिवार, विद्यालय, समुदाय, धार्मिक संस्था, सञ्चारमाध्यम, नागरिक समाज र प्रत्येक नागरिकले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नु पर्दछ ।
यस्ता घटनाबाट सबैभन्दा बढी प्रभावित हुने समूह बालबालिका हुन्। हिंसा, द्वन्द्व र असुरक्षाको वातावरणले उनीहरूको मानसिक स्वास्थ्य, शिक्षा, आत्मविश्वास र भविष्यमा गम्भीर असर पार्ने गर्दछ । बालबालिकाले समाजबाट सिक्ने पहिलो पाठ शान्ति, सम्मान र सहिष्णुताको हुनु पर्दछ । यदि उनीहरूले आफ्नो वरिपरि घृणा, हिंसा र विभाजन देखे भने त्यसको दीर्घकालीन असर उनीहरूको व्यक्तित्व विकासमा पर्न सक्दछ भन्ने आम अभिभाबकले बेलैमा बिचार गर्न सक्नु पर्दछ । त्यसैले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै परिवार, विद्यालय, समुदाय र राज्य सबै संवेदनशील बन्न आवश्यक छ। बालबालिकालाई सुरक्षित वातावरण, मनोसामाजिक सहयोग र सकारात्मक मूल्यमा आधारित शिक्षा उपलब्ध गराउनु आजको आवश्यकता हो ।
राजनीतिक नेतृत्व, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विशेष जिम्मेवारी वहन गर्नु आजको अबश्यकता हो । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई पनि विचार गर्नु पर्ने हुन्छ । आलोचना गर्न पाइन्छ, असहमति राख्न पाइन्छ, तर त्यसका नाममा घृणा, हिंसा वा विभाजन फैलाउने अधिकार कसैलाई छैन भन्ने हेक्का हुन पर्दछ । जिम्मेवार अभिव्यक्ति नै लोकतान्त्रिक संस्कृतिको आधार हो ।
यससँगै राज्यको पनि महत्वपूर्ण दायित्व छ । समाजमा भएका हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान हुनु पर्दछ । दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइनु पर्दछ । पीडितलाई न्याय सुनिश्चित गरिनु पर्दछ । न्यायमा ढिलाइ वा पक्षपातले समाजमा अविश्वास बढाउँने गर्दछ । त्यसैले कानुनी शासनलाई प्रभावकारी बनाउनु सामाजिक सद्भाव कायम राख्ने आधार हो ।
आज हामीले आफूलाई एउटा गम्भीर प्रश्न सोध्न आवश्यक छ । हामी भावनाले सञ्चालित नागरिक बन्ने कि विवेकले निर्देशित नागरिक बन्ने ? यदि हामीले शान्ति, सहिष्णुता र मानवतालाई आफ्नो जीवनको आधार बनायौँ भने मात्र आगामी पुस्तालाई सुरक्षित, समावेशी र समृद्ध नेपाल हस्तान्तरण गर्न सक्नेछौँ। समाजलाई बदल्ने शक्ति कुनै एक व्यक्तिमा होइन, प्रत्येक नागरिकको जिम्मेवार व्यवहारमा हुने गर्दछ ।
आउनुहोस्, हामी सबैले बौद्धिक संस्कारको विकास गरौँ। सत्य र प्रमाणमा आधारित सूचना मात्र ग्रहण गरौँ। सामाजिक सञ्जालमा जिम्मेवार बनौँ। जात, धर्म, भाषा, वर्ग वा लिङ्गका आधारमा होइन, मानवताको आधारमा एकअर्कालाई सम्मान गरौँ। बालबालिकाको सुरक्षा, सामाजिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वलाई आफ्नो साझा दायित्वका रूपमा स्वीकार गरौँ। जब प्रत्येक नागरिकले आफ्नो अधिकारसँगै कर्तव्यलाई पनि उत्तिकै महत्व दिने गर्दछ तब मात्र समृद्ध, न्यायपूर्ण र शान्त नेपाल निर्माण सम्भव हुनेछ ।
सामाजिक सद्भाव कुनै सरकारी नीति मात्र नभई यो त हाम्रो जीवनशैली हो । शान्ति कुनै सम्झौताको विषय मात्र नभई हाम्रो अस्तित्वको आधार हो । मानवता कुनै आदर्श वाक्य मात्र नभई हाम्रो सभ्यताको पहिचान हो । त्यसैले विभाजन होइन, एकता रोजौँ; घृणा होइन, करुणा रोजौँ; हिंसा होइन, शान्ति रोजौँ। यही बाटोले नेपाललाई थप सभ्य, समावेशी र समृद्ध राष्ट्र बनाउनेछ ।
प्रकाश खतिवडा, बाल कल्याण समाज, मकवानपुर अध्यक्ष हुन् ।








