हेटौँडा । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसरमा हेटौँडामा सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।
मंगलबार हेटौँडा उपमहानगरपालिका र मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा इन्सेक बागमती प्रदेश, माइती नेपाल, हिमराइट्स मकवानपुर, इस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन, अस्मिता नेपाल, छोराछोरी नेपाल, मकवानपुर नारी संरक्षण केन्द्र, साना हातहरू हेटौँडा, मकवानपुर महिला उत्थान समाज, नारी सीप सिर्जना केन्द्र नेपाल, ग्रामीण महिला सेवा केन्द्र,नेपाल मानव अधिकार संगठन मकवानपुर,इटिसी नेपाल, हिरण्य नेपाललगायत संस्थाको सहकार्य रहेको थियो।
सञ्जाल अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा वडा सदस्य गीता परियार,वडा सदस्य रञ्जु लुङ्वा, वडा प्रहरी इन्चार्ज आशा लामा, हेटौँडा उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी बिना थिङ, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा तथा मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठलगायतको उपस्थिति थियो।
प्रमुख अतिथि वडा अध्यक्ष लामाले विगतमा पदमपोखरी क्षेत्रमा मानव बेचबिखनको अवस्था धेरै रहेको स्मरण गर्दै त्यही अवस्थालाई मध्यनजर गरेर जोडीबीच कार्यक्रम आयोजना गरिएको बताए। अहिले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले समुदायमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रतियोगितामा ११ जोडी सहभागी भएका थिए। सहभागीलाई मानव बेचबिखन, मानव अधिकार, प्रविधिको सुरक्षित प्रयोगलगायत विषयमा १०९ वटा प्रश्न सोधिएको थियो। प्रश्नोत्तर कार्यक्रमको सहजीकरण माइती नेपालकी संयोजक माया लामा र हेटौंडा उपमहानगरपालिका बाल कल्याण अधिकारी बिना थिङले गरेका थिए। प्रतियोगितामा उत्कृष्ट चार जोडीलाई पुरस्कार तथा सहभागी सबैलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमकी सभाध्यक्ष आरती पाठकले मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन्। पछिल्लो समय प्रविधिको दुरुपयोग, पारिवारिक दूरी तथा सम्बन्ध विच्छेदजस्ता सामाजिक विषयलाई समेत ध्यानमा राख्दै कार्यक्रममार्फत सचेतना फैलाउन खोजिएको उनले बताइन्।








