विशिष्टतामा एकताः क्यान्सर विरुद्धको साझा संकल्प
फेब्रुवरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाइदै

हरेक वर्ष फेब्रुवरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस मनाइने गरिन्छ । सन् २००० मा फ्रान्समा आयोजित World Summit Against Cancer for the New Millennium बाट सुरु भएको यो अभियान आज विश्वव्यापी जनस्वास्थ्य आन्दोलनको रूपमा स्थापित भइसकेको छ। क्यान्सरजस्तो जटिल, पीडादायी र बहुआयामिक रोगविरुद्ध सरकार, स्वास्थ्य संस्था, नागरिक समाज, सञ्चार माध्यम र आम नागरिकलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ ।
यस वर्षको विश्व क्यान्सर दिवसको नारा “United by Unique” अर्थात् “विशिष्टतामा एकता” रहेको छ। यो नारा केवल शब्दको संयोजन मात्र होइन, यो गहिरो मानवीय दर्शन हो। यसले हामीलाई के बुझाउन खोजेको छ भने हामी सबै फरक–फरक छौँ, हाम्रा जीवन कथा फरक छन्, हाम्रा संघर्ष, पीडा र अनुभव फरक छन्, तर क्यान्सर विरुद्धको हाम्रो लक्ष्य एउटै हो र त्यो साझा लक्ष्य हो ।

आजको यथार्थ हेर्दा क्यान्सर केवल एउटा स्वास्थ्य समस्या मात्र होइन, यो सामाजिक, आर्थिक र भावनात्मक संकट पनि हो। नेपालमा हरेक वर्ष करिब २२,५०० नयाँ क्यान्सरका बिरामी थपिने तथ्याङ्कले देखाउँछ कि यदि हामीले समयमै सचेतना, रोकथाम र प्रारम्भिक पहिचानमा ध्यान दिएनौँ भने यो समस्या भोलिका दिनमा भयावह रूपमा फैलिने निश्चित छ। रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन गरिने जागरण र रोकथाम सबैभन्दा प्रभावकारी उपाय हो भन्ने कुरा आज अझ सान्दर्भिक बनेको छ।

“विशिष्टतामा एकता” भन्ने नाराले के स्पष्ट पार्न खोजेको छ भने हरेक क्यान्सर बिरामीको अवस्था फरक हुन्छ। कसैको रोग प्रारम्भिक चरणमा पत्ता लाग्छ, कसैको ढिलो; कसैलाई परिवारको साथ र आर्थिक सहयोग हुन्छ, कसैलाई हुँदैन; कसैले आशा देख्छ, कसैले निराशा। त्यस्तै, क्यान्सर प्रभावित परिवारको पीडा फरक हुन्छ, स्वास्थ्यकर्मीको भूमिका फरक हुन्छ, नीति निर्माणकर्ताको जिम्मेवारी फरक हुन्छ। तर जब यी सबै फरकपनलाई सम्मान गर्दै साझा उद्देश्यका लागि एकजुट हुन्छौँ, तब मात्र क्यान्सरविरुद्धको हाम्रो लडाइँ प्रभावकारी बन्छ।

नेपालको सन्दर्भमा क्यान्सर रोग भुसको आगोझैँ सल्किरहेको छ। ग्रामीण तथा सिमान्तकृत समुदायमा चेतनाको कमी, गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव र ढिलो निदानले समस्या झनै जटिल बनाएको छ। परिवारमा एक जनालाई क्यान्सर लाग्दा उपचार खर्च धान्न नसकेर घर–जग्गा बेचिनु, ऋणको भारी बोकेर परिवार नै विचल्लीमा पर्नुजस्ता घटना हाम्रो समाजमा असंख्य छन्। यसले राज्यको उपस्थिति र सामाजिक सुरक्षाको अनुभूति नागरिकले गर्न नपाएको यथार्थ उजागर गर्छ।

यस्तो अवस्थामा सरकार, स्वास्थ्य संस्था, नागरिक समाज, सञ्चार माध्यम र आम नागरिकबीचको साझा प्रयास अपरिहार्य छ। क्यान्सरविरुद्धको लडाइँ कुनै एक संस्थाले वा एक व्यक्तिले जित्न सक्दैन। यो त साझा उत्तरदायित्व र सामूहिक संकल्पबाट मात्र सम्भव छ।

नेपाल अर्बुद रोग निवारण संस्था विगत ४२ वर्षदेखि यही साझा उद्देश्यका साथ निरन्तर क्रियाशील छ। क्यान्सरविरुद्ध सरकारी नीतिगत निर्णयका लागि पैरवी गर्नु, सुर्तिजन्य पदार्थको प्याकेटमा त्यसबाट हुने हानिबारे स्पष्ट चित्र अंकित गर्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा भूमिका खेल्नु, सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्न सरकारसँग निरन्तर संवाद गर्नु, देशभर निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक अभियान सञ्चालन गर्नु— यी सबै संस्था द्वारा गरिएका दीर्घकालीन प्रयासहरू हुन्।

विशेषगरी सिमान्तकृत समुदाय, दुर्गम भूगोल र विपन्न वर्गलाई लक्षित गर्दै जिल्ला शाखामार्फत सञ्चालन गरिएका कार्यक्रमहरूले क्यान्सर सचेतनालाई गाउँ–गाउँसम्म पु¥याएको छ। साथै, विपन्न तथा कम आय भएका नागरिकलाई लक्षित गर्दै अत्यन्त न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको भक्तपुर क्यान्सर अस्पतालले हजारौँ नागरिकको जीवनमा आशाको किरण जगाएको छ। हाल विशेष परिस्थितिका कारण नेपाल सरकारले समिति मार्फत यो अस्पताल सञ्चालन गरिरहेको सन्दर्भमा, आम नागरिकले यसलाई पूर्ण रूपमा सरकारी अस्पतालको रूपमा स्थापित गरी नागरिकको स्वास्थ्य अधिकार र आर्थिक अवस्था मध्यनजर गर्दै सञ्चालन गर्नुपर्ने अपेक्षा राखेका छन्।

क्यान्सर रोगको प्रमुख कारकमध्ये एक सुर्तिजन्य पदार्थ हो। नेपाल सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन बनाएको भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीकै रूपमा रहेको छ। ऐन कागजमा सीमित नभई व्यवहारमा लागू गर्न सरकार र नागरिक समाजबीचको कार्यगत एकता आजको आवश्यकता हो। चेतनाको अभाव र कमजोर कार्यान्वयनले गर्दा नयाँ पुस्ता अझै पनि जोखिममा परिरहेको छ।

यसै सन्दर्भमा, नेपाल अर्बुद रोग निवारण संस्थाले हरेक वर्ष जनमैत्री कार्यक्रमसहित विश्व क्यान्सर दिवस मनाउँदै आएको छ। यस वर्ष केन्द्रिय कार्यालयको आयोजनामा क्यान्सर सचेतनाका लागि पैदल यात्रा कार्यक्रम सञ्चालन गरिएको छ भने संस्थाका ४८ जिल्ला शाखाले देशभर विविध कार्यक्रममार्फत जनचेतना अभियान सञ्चालन गरिरहेका छन्। यो पैदल यात्रा केवल हिँडाइ मात्र होइन— यो आशाको कदम हो, सचेतनाको आवाज हो, पीडितको चित्कार हो र एकताको सशक्त सन्देश हो।

हामी स्पष्ट सन्देश दिन चाहन्छौँ— हामी फरक छौँ, तर डरको अगाडि एक छौँ। हामी फरक छौँ, तर क्यान्सरविरुद्धको अभियानमा एकजुट छौँ। यही सन्देश बोकेर आज देशभर विविध कार्यक्रम सञ्चालन भइरहेका छन्।
आजको दिन हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने दिन हो। हामीले क्यान्सरविरुद्ध कति सचेत छौँ? जोखिम कारकतर्फ हाम्रो व्यवहार कस्तो छ? समयमै परीक्षण गराउने संस्कार हामीले विकास गरेका छौँ कि छैनौँ? क्यान्सर पीडित र प्रभावितप्रति हाम्रो सहानुभूति र सहयोग कति व्यवहारिक छ?
विश्व क्यान्सर दिवसको अवसरमा म सबै नागरिकलाई आग्रह गर्न चाहन्छु— क्यान्सरबारे सचेत बनौँ, शंका लागेमा समयमै परीक्षण गराऔँ, उपचारको महत्व बुझौँ र क्यान्सर पीडित तथा उनीहरूको परिवारप्रति सहानुभूति, सहयोग र सम्मान प्रकट गरौँ। साथै, सरकार र सरोकारवाला निकायलाई आग्रह छ— नीति, बजेट र कार्यक्रममार्फत क्यान्सर रोकथाम, उपचार र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखियोस्।
अन्त्यमा, “विशिष्टतामा एकता” केवल नारा नभएर हाम्रो साझा मार्गदर्शन हो। जबसम्म हामी फरकपनलाई स्वीकार गर्दै साझा उद्देश्यका लागि एकजुट हुँदैनौँ, तबसम्म क्यान्सरविरुद्धको लडाइँ अधुरो रहन्छ। आउनुहोस्, यस विश्व क्यान्सर दिवसमा संकल्प गरौँ— क्यान्सरविरुद्ध हामी सबैको लडाइँ साझा बनाऔँ। किनकि सँगै भए मात्र हामी यस रोगलाई परास्त गर्न सक्छौँ ।

प्रकाश खतिवडा नेपाल अर्बुदरोग निबारण सस्थाका केन्द्रिय उपमहासचिब हुन्, उनि समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.