एक्लै बाँचिरहेकी आमा
कविता

एक्लै बाँचिरहेकी आमा,
दुःखको भारी बोकेकी छिन् सधैँ।
छोराछोरी छन्, तर छन् जस्तै छैनन्,
न त मायाको कुरा, न त जिम्मेवारीको चिन्ता।

दिनरात काम गर्छिन्,
बुढो शरीर थाकिसकेको छ।
तर मन अझै छोरोछोरीकै सपना देख्छ,
“कतै त माया पाउँछु होला” भन्ने आशामा।

छोरो मोबाइलमा हराएको छ,
छोरी अरूको घरमा आफैलाई हराएकी छ।
“किन हुर्काएँ यिनलाई?”
भन्छिन् चुपचाप, भित्तामा आँखा गाडेर।

आफ्नै पेट काटेर खुवाएकी हातहरू,
आज तिनैले बेसाहारा बनाएका छन्।
न आशा छ, न सपना बाँकी,
केवल चिसो ओछ्यान, र एक्लोपनको साथी।

“म कहाँ चुकें?” भन्ने प्रश्नले रातभर सुत्न दिँदैन,
“कि आमा हुनु नै अपराध हो?” जस्तो लाग्छ।
उसको आँसु कसैले देख्दैन,
न छोरीले, न छोराले, न त समाजले।

तर पनि बिहान उठ्छिन्, भात पकाउँछिन्,
साँझ फेरि आकाश हेर्छिन्,
शायद कुनै दिन छोरो फर्किन्छ भन्ने भरोसाले,
उही भरोसा, जो मनको कुनामा अझै बाँकी छ।

-इन्दिरा तिमल्सिना बजगाईं, हेटौंडा

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.