पसिनाका जराहरु….

तप्प–तप्प चुहिन्छ पसिना ,
तर
भिज्दैन केवल गोरेटो—
त्यसैबाट उम्रिन्छ
विश्वासका जराहरू,
आशाका हरियाली टुसाहरू।

संघर्षले चिरा पार्छ हात,
तर आत्मा अझै अढीग छ।

अन्धकार जति गाढा भए पनि
पसिनाको चमकले
भविष्यको उज्यालो लेख्छ।

थाकेका काँधले भारी नै बोके पनि
हिम्मत कहिल्यै हारेको छैन,
र सपनाले थामेका आँखा
नयाँ क्षितिज खोजिरहेछ।

पसिनाका थोपा
जब माटोमा मिसिन्छ,
त्यसै माटोले दिन्छ
फलफूल, अन्न र जीवनको ऊर्जा।

मान्छे केवल जन्मिँदैन,
मान्छे घोटिन्छ —
पसिनाको भट्टीमा,
होमिन्छ संघर्षको आगोमा,
धैर्यको हातले गढेको मूर्तिमा।

त्यही भएर
पसिनाको हरेक धारा
श्रमको महिमा हो,
र श्रमकै महिमाले
भाग्यले नयाँ इतिहास कोर्छ।

विवश चौलागाईं
हेटौंडा -११

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.