चल्न छाडिदिए हावाले
बग्न छाडिदिए नदीले
उड्न छाडिदिए बादलले अाकाशमाथि
हुन छाडिदिए समयमा चाहुरी
हामी हामी हुने थिएनौँ
ढुङ्गाले नभइदिए त्यति सार्हो
माटोले नभइदिए त्यति कमलो
नफुलिदिए फूलहरू सुन्दर
नभइदिए काँडाहरू तीखा
हामी कडा ,नरम , सुन्दर र पीडा कहाँ सिक्थ्यौँ ?
एक मुठ्ठी सास च्यापेर कोखामा
एक दुई टुक्रा जमिनलाई भन्दै आफ्नो
सहजै प्राप्त गरेर सारा चिज
हामी स्वघोषित सर्वश्रेष्ठ प्राणी हौँ
नबुझे प्राकृतिक नियमितता
नसोचे यिनका नियम र अावधिक अस्तित्व
कुनै दिन
कुनै भौगर्भिक समयको विकसित जीवका सन्तानहरूले
खोरमा थुनिएका मान्छेहरूलाई हेर्दै भन्नेछन् –
‘ कुनै युगका विकसित जीव थिए यी ‘
बकैया–५ ,पावस मकवानपुरमा जन्मिएका सुवास खनाल (२०४३)कविता लेखनमा २०५७ सालदेखि क्रियाशील छन् । यसअघि उनको विचारको उल्टो नदी (२०७१) कविता सङ्ग्रह प्रकाशित छ । लेखनका साथसाथै साहित्यिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका खनाल गजल मञ्च मकवानपुरका संस्थापक सचिव, चितवन एसोसिएसन अफ फिजिक्स स्टुडेन्ट्सका पूर्व उपाध्यक्ष, साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष ,श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका संस्थापक सचिव र प्रलेस,नेपालका केन्द्रीय परिषद् सदस्य रहेका छन् । हेटौँडाको टिम टेलिभिजनमा साहित्यिक कार्यक्रम सिर्जनाका सुसेलीको प्रस्तोता समेत रहेका खनाल माध्यमिक तह विज्ञान विषयका स्थायी शिक्षक हुन् । झरना साहित्यिक अर्धवार्षिकका प्रधान सम्पादक समेत रही सकेका यिनी कविता बाहेक साहित्यका कथा , निबन्ध , समीक्षा लेखनमा पनि कलम चलाउँछन् । सपनाका अवयव खनालको दोस्रो कविता सङ्ग्रह हो । उनले पाएका सम्मान तथा पुरस्कारहरुमा पुरस्कार कोल्गेट उत्कृष्ट छात्र पुरस्कार -२०५८, शेषजङ्ग स्मृति कथा पुरस्कार -२०५९, एसएलसी मकवानपुर जिल्ला तृतीय)कर्मचारी मिलन समाजद्वारा सम्मान- २०५९, खबरपत्र सम्मान -२०६२, सङ्काय प्रथम सम्मान मकवानपुर बहुमुखी क्याम्पस -२०६२,६३,६४ , महिला हिंसा विषयक जिल्लास्तरीय कविता प्रतियोगिता प्रथम( २०६३ , आकुरा राष्ट्रिय कविता प्रतियोगिता नेपालगञ्ज -२०६४ (तृतीय), खबरब्रेक सम्मान- २०७६, थाहा साहित्य सम्मान -२०७६ मेरठ साहित्य रत्न सम्मान -२०७४, नेपाल भारत साहित्य सम्मान,बीरगञ्ज-२०७५, सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान -२०७७ हातेमालो सिर्जनशील युवा सम्मान- २०७७, मकवानपुर साहित्य श्री सम्मान-२०७८ आदि रहेका छन् ।









