हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० मा सञ्चालित विद्यार्थी सचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ। जेठ ११ गतेदेखि सुरु भएको कार्यक्रम वडा नम्बर १० भित्र रहेका चार विद्यालयमा सञ्चालन गरिएको थियो।
सुनौलो शिक्षा नेपालको आयोजना तथा वडा कार्यालयको सहयोगमा सञ्चालित कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब ९ सय विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा नीति तथा नैतिकता, अधिकार र कर्तव्य, बाल संरक्षण, असल तथा खराब छुवाइ, यौन हिंसा तथा शोषण, बालविवाह, बालश्रम, अनलाइन अपराध, लागुपदार्थ दुर्व्यसन र मनोसामाजिक स्वास्थ्यलगायत विषयमा सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ।
सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य गोमा सुनार, विद्यालयका सहायक प्रधानाध्यापक प्रेमबहादुर स्याङ्तान तथा विद्यालयका शिक्षकहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले विद्यार्थी लक्षित यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनले ज्ञानदा माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक सुधारका कार्यहरू अगाडि बढाइएको जानकारी दिए। साथै, संस्थागत तथा निजी विद्यालयका एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३३ जना विद्यार्थीलाई सम्मान गरिएको स्मरण गर्दै विद्यालयलाई हेटौंडा उपमहानगरपालिका तथा मकवानपुर जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागिएको बताए।
वडा सदस्य गोमा सुनारले विद्यार्थीमा अध्ययनप्रतिको चेतना र जिम्मेवारी विकास हुन सके शिक्षा क्षेत्र स्वतः सुधार हुने धारणा व्यक्त गरिन्। उनले आफ्नो बाल्यकालका अनुभव सुनाउँदै विद्यार्थीलाई लक्ष्य निर्धारण गरी निरन्तर अगाडि बढ्न प्रेरित गरिन्।
त्यस्तै ज्ञानदा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रेमबहादुर स्याङ्तानले वर्तमान समयमा यस्ता सचेतनामूलक कार्यक्रमको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा ज्ञानदा माध्यमिक विद्यालय, सोलिड्यारिटी माध्यमिक विद्यालय, तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा संस्कृत वेद विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
आयोजक संस्थाका अध्यक्ष दुलालले संस्था विगतदेखि महिला, बालबालिका तथा साइबर अपराध नियन्त्रण सम्बन्धी क्षेत्रमा सक्रिय रहेको जानकारी दिँदै यस्ता कार्यक्रमले विद्यार्थीमा जनचेतना अभिवृद्धि गर्नुका साथै पाठ्यपुस्तकबाहेकका व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको बताए।









