हेटौँडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसर पारेर माध्यमिक तहका विद्यार्थीबीच जिल्लास्तरीय कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको व्यवस्थापनमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण गर्दै औपचारिकता सुरु गरिएको थियो। कार्यक्रममा भानुभक्तको जीवन र योगदानमाथि परिचर्चा, प्रतियोगितात्मक कविता वाचन, शुभकामना मन्तव्य तथा साहित्यकारहरूको रचना वाचन समेत गरिएको थियो।
कविता प्रतियोगितामा हेटौँडा एकेडेमीकी रोज कार्की पहिलो, बालजागृति मलिश सेकेण्डरी स्कुलकी आशिका न्यौपाने दोस्रो र अमर माविकी रोशिका भट्टराई तेस्रो स्थानमा रहने सफल भए। गोरक्षनाथ माविकी इन्दिरा विश्वकर्मालाई सान्त्वना पुरस्कार प्रदान गरियो।
भानुभक्त प्रतिष्ठान बागमती प्रदेशका संयोजक हयग्रिव आचार्यको प्रमुख आतिथ्यतामा तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा १३ जना कविहरूले छनोटीय कविता वाचन गरेका थिए।
कार्यक्रममा अन्तिम निर्णायक मण्डलका घनश्याम घिमिरे र देवीराम लामालाई, परिचर्चाकार सुनिल गौतम, व्यवस्थापनमा सहयोग गर्ने विद्यालय तथा व्यक्तिहरू र पुरस्कार दातालाई सम्मान गरिएको थियो।
त्यस्तै जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, प्रधानाध्यापक भूपेन्द्र चौलागाईं, समिति सदस्यहरू, मूर्तिकार ओम भक्त भण्डारी, साहित्यकार माधव पोखरेल, विश्वनाथ सञ्जेल, सञ्जित गोपाली, राजकुमार लामिछाने, सुबाष सजल, राजुराम राउत लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सदस्य सम्प्रस पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव मनोज पोखरेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।










