पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’माथि लागेको बलात्कार मुद्दा गम्भीर मोडमा पुगेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले जाहेरीकर्तालाई मुद्दा रोक्नकै लागि एकमुष्ट तीन लाख रुपैयाँ दिएको स्वीकार गरेका छन्, जसले उनको कथनमा नै प्रश्न खडा गरिदिएको छ ।
प्रहरीका अनुसार, २३ वर्षीया युवतीले काठमाडौंस्थित डेरामा बलात्कार भएको भन्दै जाहेरी दिएकी हुन् । युवतीको मेडिकल रिपोर्टमा ‘हाइमेन टियर’ भेटिएको र घटनास्थलको विवरणले पनि जाहेरी मिलेको देखिएको प्रहरीको भनाइ छ । प्रहरी प्रतिवेदनअनुसार घटना २०८१ जेठ ४ गते बिहान ९ बजे भएको बताइएको छ ।युवतीले दिएको बयानमा उनले आफूलाई परिवारसँग सन्देश ल्याएको भन्दै झुक्याएर कोठामा आएर ढोका थुनेर मुख थुनी, धम्की दिई बलात्कार गरेको उल्लेख छ । घटनापछि निरन्तर धम्की दिएको, विवाह नहुने, परिवारले आत्महत्या गर्नुपर्ने अवस्थामा पुग्ने जस्ता धम्की दिएको भन्दै उनले बयान दिएकी छिन् ।
अर्कातर्फ, राजेश झाले भने युवतीसँग पुरानो पारिवारिक चिनजान रहेको, विदेश पढ्न भनेर युवतीले आफूसँग २० लाख मागेको र नपाउँदा रिसले झुटो मुद्दा लगाएको दाबी गरेका छन् । उनले युवती तथा उनकी आमाले बारम्बार पैसा मागेको, धम्की दिएको र अन्ततः तीन लाख रुपैयाँ दिएर मानसिक तनाव हटाउने प्रयास गरेको बताए । त्यो रकम पनि बैंकमार्फत खातामा नै जम्मा गरिदिएको दाबी उनले गरेका छन् ।
अहिराजले भनेका छन्, “माफ गर्नुस्, मैले बलात्कार गरेको होइन, तर धम्कीका कारण पैसा दिएको हुँ ।” साथै, उनले युवती र परिवारले पटक–पटक पैसा माग्दै झुटो मुद्दा लगाउने भनेर बार्गेनिङ गरेको अडियो, च्याट र भिडियो प्रमाण प्रहरीलाई बुझाएको पनि बताएका छन् ।सरकारी वकिल कार्यालयले भने मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार ७ देखि १० वर्षसम्म कैद र तीन लाख जरिवाना माग गर्दै मुद्दा अघि बढाएको छ ।सारमा, एकातिर युवतीको स्पष्ट बलात्कार आरोप र मेडिकल रिपोर्ट, अर्कोतर्फ अहिराजको पैसासहितको कथित बार्गेनिङ प्रकरणले यो मुद्दा गहिरिँदो छ । मुद्दा अदालतमा पुगिसकेको छ, अब सत्य के हो भन्ने निर्णय न्यायले नै गर्नेछ ।









