हेटौंडा । “जीवन त राम्रै चलिरहेको थियो,” भन्छन् ३८ वर्षीय प्रलय श्रेष्ठ, “तर एक दिन आमाको क्यान्सरले सबै भताभुंग बनायो।”
३५ वर्षको उमेरमा प्रलय श्रेष्ठको जीवनमा अन्धकारको सुरुवात भयो। काम थियो—एक प्रतिष्ठित लिभर कम्पनीमा मेकानिकको जागिर, साथमा मायालु श्रीमती र नानीजस्तो छोरा। समाजमा राम्रो मान-सम्मान थियो। तर, एक दिन आमाको क्यान्सरले त्यो सबै उज्यालोमा कालो छायाँ ल्यायो। आमा बितेपछि, उनले आफ्नो जीवनप्रति नै आशा गुमाए।
शुरुमा अलिकति नशा सेवन गर्दै जाँदा, त्यो बानीमा बदलियो। बानी लतमा परिणत भयो। लतले उनलाई परिवार, इज्जत, काम—सबैबाट टाढा पुर्यायो। छरछिमेकी र आफन्तको नजरमा उनी घृणित पात्र बने। जीवन अस्तव्यस्त, निरर्थक लाग्न थाल्यो। मृत्युको मुखसम्म पुगिसकेका प्रलयलाई अन्ततः उनको परिवारले सिआन पुनर्स्थापना केन्द्र पुर्यायो—त्यो ठाउँ, जहाँबाट फेरि जीवन सुरु हुने थियो।
“सिआन आउँदासम्म म सकिनसकेको थिएँ,” उनी सम्झन्छन्, “तर त्यहाँका दाइ, गुरुहरूले मलाई फेरि मानिस बनाइदिए।” रिहाब शब्दको नकारात्मक छवि लिएर पुगेका प्रलयले सिआनमा नयाँ संसार देखे। उपचार प्रक्रियामार्फत मात्र होइन, जीवनका मूल्य, धर्म र आत्मसम्मानका बारेमा उनले त्यहाँ गहिरो ज्ञान पाए।
उपचारपछि घर फर्केका उनले दुई दिनको विश्रामपछि आफैंले अनुभव गरेको पीडालाई औषधी बनाउँदै सिआनमै काम गर्न थाले। दाजुभाइलाई सल्लाह दिने, बाटो देखाउने काममा उनी दिनरात खटिए। उनको लगनशीलता देखेर संस्थाले उनलाई कर्मचारीका रूपमा नियुक्त गर्यो।
आज, उनी सिआनका एक काबिल, उत्तरदायी र इमानदार कर्मचारीको रूपमा परिचित छन्। “संस्थाले मलाई ‘गाँस, बास, कपास’ मात्र होइन, जीवनको अर्थ पनि दिएको छ,” उनी भन्छन्।
प्रलय इसाई धर्ममा आस्था राख्छन्। चर्च जान्थे, प्रार्थना गर्थे। धर्मले दिएको सहारा, परिवारको माया र सिआनको साथले उनले फेरि नयाँ जीवन पाएका हुन्। अहिले उनको परिवार उनलाई हेरेर गर्व गर्छ। “म सधैं सिआनप्रति आभारी रहनेछु,” उनी भावुक हुँदै भन्छन्।
प्रलय श्रेष्ठको कथा हजारौंका लागि प्रेरणाको स्रोत बन्न सक्छ। नशाले जीवन बर्बाद पार्न सक्छ, तर पुनर्स्थापना र समाजको साथले त्यो जीवन पुनः निर्मित पनि हुन सक्छ भन्ने सन्देश उनी दिन्छन्।











