मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको लागू औषध दुर्व्यसन विरुद्धको ३ महिने अभियान अन्तर्गत कैलाश गाउँपालिकामा विविध सचेतनामूलक तथा समन्वयात्मक कार्यक्रम सम्पन्न भएका छन्। अभियानले समुदाय, विद्यालय र स्थानीय सरकारबीच सहकार्य विस्तार गर्दै लागू औषध विरुद्ध सशक्त सामाजिक अभियानको रूप लिएको छ।
पालिका स्तरीय समन्वय बैठक गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा महाशाखा प्रमुख, शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा लागू औषध नियन्त्रण, युवामाझ बढ्दो दुर्व्यसन तथा रोकथामका उपायबारे छलफल गरिएको थियो।
यसैगरी, वडा नं. ३ स्थित श्री भवानी माध्यमिक विद्यालयमा आयोजित सचेतना कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। वडा अध्यक्ष देवलाल बलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लागू औषधको असर, मानसिक स्वास्थ्य, सही संगतको महत्व तथा उज्ज्वल भविष्य निर्माणका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।
अभियान अन्तर्गत विद्यालय तथा वडा कार्यालय परिसरमा “धुम्रपान निषेध क्षेत्र” सम्बन्धी बोर्ड स्थापना गरिएको छ भने सार्वजनिक स्थलहरूमा सन्देशमूलक पर्चा वितरण गरी जनचेतना फैलाउने काम पनि गरिएको छ।
“लागू औषधमुक्त समाज, सुरक्षित भविष्य” भन्ने मूल सन्देशसहित सञ्चालन भइरहेको अभियानले युवालाई कुलतबाट जोगाउने, समुदायलाई जिम्मेवार बनाउने तथा सामाजिक एकता मजबुत बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।








