हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोग को २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा दीपक प्रसाद देवकोटा ले मानव अधिकारको सम्मान र सामाजिक न्याय नै समृद्ध तथा सभ्य राष्ट्रको आधार भएको बताउनुभएको छ।
“जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दीगो शान्ति र समृद्धिको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शक्तिशाली राष्ट्र केवल भौतिक पूर्वाधारले नभई मानवताको सम्मानले निर्माण हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले “समृद्ध समाज भौतिक पूर्वाधारले होइन, न्यायले चिनिन्छ, सभ्य देश त्यो हो जहाँ सबैभन्दा कमजोर नागरिकले पनि आफू सुरक्षित महसुस गर्छ” भन्दै मानव अधिकार प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्य लगायतका आधारभूत अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने उहाँको भनाइ थियो।
महिला हिंसा, विभेद तथा अन्यायका घटनाले केवल एक व्यक्तिलाई नभई समग्र राष्ट्रको आत्मालाई आहत बनाउने उल्लेख गर्दै उहाँले मानव अधिकारको संरक्षणलाई मानवता जोगाउने अभियानका रूपमा लिनुपर्ने बताउनुभयो।
विश्व तीव्र परिवर्तनको यात्रामा रहेको र सामाजिक सञ्जाल तथा एआईको प्रयोगसँगै मानव अधिकार उल्लंघनका स्वरूप परिवर्तन हुँदै गएको भन्दै उहाँले नयाँ चुनौतीप्रति सचेत रहन आग्रह गर्नुभयो।
कार्यक्रममा आयोगप्रति आभार व्यक्त गर्दै प्रदेश प्रमुख देवकोटाले आयोग विगत २६ वर्षदेखि पीडितको आवाज सुन्ने, अन्यायविरुद्ध उभिने र मानवताको पक्षमा दृढतापूर्वक बोल्ने संस्थाका रूपमा स्थापित भएको बताउनुभयो।
कार्यक्रममा आयोगको बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख चन्द्रकान्त चापागाँई ले आर्थिक वर्ष २०८२/८३ मा हालसम्म विभिन्न विषयमा १९ वटा उजुरी दर्ता भई अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार आयोगमा हाल मौजुदा ५२० उजुरीसहित कुल ५३९ उजुरी रहेका छन्। यस अवधिमा ६६ जना सेवाग्राहीलाई परामर्श सेवा प्रदान गरिएको छ, जसमा ४६ पुरुष, १९ महिला र १ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका छन्।
त्यसैगरी २ जना महिला र १ जना बालकलाई स्थानीय प्रहरी प्रशासन, सञ्चारकर्मी तथा अधिकारकर्मी संस्थासँगको समन्वयमा पुनःस्थापना गरिएको जानकारी पनि कार्यक्रममा दिइयो।कार्यक्रममा खुबिराम अधिकारी ले मानव अधिकार संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उक्त कार्यक्रममा कृष्ण बहादुर शाही, रमिला सापकोटा लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले जानकारी दिनुभयो।








