सिन्धुली । हरिहरपुरगढी गाउँपालिका, इन्सेक बागमती प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग तथा स्वाधीन खबर पत्रिका सिन्धुलीको संयुक्त आयोजनामा स्थानीय तह र मानव अधिकार सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले मानव अधिकार मानिसको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि पालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले मानव अधिकार उल्लङ्घनका घटना स्थानीय तहमा बढी देखिने भएकाले आगामी नीति, कार्यक्रम तथा बजेटमार्फत यस क्षेत्रलाई प्राथमिकता दिइने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाका प्रवक्ता कमलकुमार राईले मानव अधिकारसम्बन्धी चेतनाको अभावका कारण अझै पनि महिला, दलित तथा बालबालिकामाथि विभेद र हिंसाका घटना भइरहेकाले यस्ता सचेतनामूलक कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर मोक्तानले प्रशिक्षणबाट मानव अधिकारका विविध विषयमा ज्ञान हासिल भएको बताउँदै सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सबैलाई आग्रह गर्नुभयो।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले शिक्षाको अधिकार मानव अधिकारको पहिलो खुड्किलो भएको उल्लेख गर्दै स्थानीय सरकारले शिक्षाको पहुँच र गुणस्तर सुनिश्चित गर्न विशेष पहल गर्नुपर्ने बताउनुभयो। उहाँले राज्यका अन्तर्राष्ट्रिय प्रतिबद्धता, संविधान र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव अधिकारको अवस्था अझै चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो।
इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले विकास योजना तर्जुमा गर्दा मानव अधिकारमैत्री विकास पद्धति अपनाउन सके मानव अधिकार संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले स्थानीय न्यायिक समितिको भूमिका र जिम्मेवारीबारे प्रस्तुति दिँदै स्थानीय तहमा उत्पन्न हुने विवादलाई संवाद र मेलमिलापमार्फत समाधान गर्न न्यायिक समिति सधैँ सक्रिय र सचेत हुनुपर्नेमा जोड दिनुभयो।
स्थानीय प्रहरी कार्यालयका असई आरिफ मियाले नागरिकको अधिकार संरक्षणका लागि नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक लीला उप्रेतीले प्रशिक्षणले मानव अधिकारसम्बन्धी ज्ञान, सीप र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो।
स्वाधीन खबर पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले संविधानमा उल्लेखित मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमार्फत मानव अधिकार संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गर्दै यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले मानव अधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा मानव अधिकार, सुशासन, शिक्षाको अधिकार, मानव अधिकारमैत्री विकास पद्धति तथा स्थानीय न्यायिक समितिको भूमिकाबारे सहजीकरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा आगामी आर्थिक वर्षका लागि मानव अधिकार तथा कर्तव्यसम्बन्धी सचेतनामूलक कार्यक्रम, युवा मानव अधिकार रक्षक सम्मेलन, वातावरण र मानव अधिकार सचेतना कार्यक्रम तथा अनलाइन दुर्व्यवहार र डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम समावेश गर्न प्रस्तावपत्र प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेसमक्ष पेश गरिएको थियो।








