हेटौंडा। दलित महिलाहरूलाई लक्षित गरी आयोजित तीन दिने मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। सुनौलो शिक्षा नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–१७ नम्बर वडा कार्यालयको सहयोगमा बिहीबारदेखि सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो।
सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सत्यालले वडामा यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको उल्लेख गर्दै यसको उपलब्धिमूलक प्रभावका लागि सुनौलो शिक्षा नेपाललाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडा सदस्य उर्मिला चुनाराले दलित महिलाहरूका लागि विशेष कार्यक्रमको आवश्यकता महसुस गर्दै यस्ता कार्यक्रम सञ्चालनका लागि आफूले पहल गरेको बताइन्। उनले आगामी दिनमा पनि दलित महिलाहरूको क्षमता अभिवृद्धि र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक पहल जारी राख्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रमका सहभागीहरूले मनोसामाजिक स्वास्थ्यसम्बन्धी विषयमा जानकारी प्राप्त गर्ने अवसर मिलेको भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए। उनीहरूले समाजमा भइरहेका विभिन्न घटनाक्रम तथा मानसिक स्वास्थ्यका विषयमा बुझ्न मद्दत पुगेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। “शरीरको रोगबारे मात्र जानकारी राखेका हामीले मनको स्वास्थ्यबारे पनि ज्ञान प्राप्त गर्ने अवसर पायौँ,” सहभागीहरूको भनाइ थियो।
तीन दिने सचेतना कार्यक्रममा सहजकर्ता सविता परियारले मनोसामाजिक स्वास्थ्य तथा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएकी थिइन्। त्यसैगरी, छोरी रौतहटकी प्रमुख कोपिला तिमल्सिनाले आत्महत्या रोकथाम तथा स्व–हेरचाहका विषयमा जानकारी गराएकी थिइन्।
कार्यक्रममा अध्यक्ष दुलालले पछिल्लो समय समाजमा मानसिक तनाव तथा आत्महत्याका घटनाहरू बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमको आवश्यकता बढेको बताए। समाजले मौन रूपमा खोजिरहेको मानसिक स्वास्थ्यसम्बन्धी चेतनालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
उनका अनुसार सुनौलो शिक्षा नेपालले नगरभित्रका अन्य वडाहरूमा समेत मनोसामाजिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ र सबै स्थानमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
कार्यक्रममा दलित तथा गैरदलित गरी ४० जना महिलाको सहभागिता थियो।








