उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडा । मानसिक स्वास्थ्य समस्याबाट पीडित मकवानपुरको मनहरी गाउँपालिका–१ का २३ वर्षीय हिरालाल थिङको स्वास्थ्य अवस्था पुनः बिग्रिन थालेपछि थप उपचार र पुनःस्थापनाको आवश्यकता देखिएको छ।

गत वर्ष हेटौंडा–९ लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना केन्द्रले उद्धार गरी करिब एक वर्षसम्म उपचार गरेपछि हिरालालको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको थियो। सुधारपछि उनलाई परिवारको जिम्मा लगाइएको थियो। तर, घरमा नियमित हेरचाह गर्ने र समयमा औषधि खुवाउने व्यक्ति नहुँदा उहाँको अवस्था फेरि जटिल बन्दै गएको छ।

केही दिनअघि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईंको नेतृत्वमा अधिकृत कृष्ण मिश्र तथा सञ्चारकर्मीसहितको टोलीले हिरालालको घरमै पुगेर अवस्थाबारे अनुगमन गरेको थियो। अनुगमनका क्रममा हिरालाल पुनः पहिले बस्ने गरेको खोरमै बस्न थालेको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएको पाइएको आयोगले जनाएको छ।

परिवारमा उनको नियमित हेरचाह गर्ने व्यक्ति नहुँदा अवस्था थप जटिल बनेको बताइएको छ। आयोगले हिरालालको पुनः उद्धार तथा उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिव खनालले हिरालालको पुनः उपचार र व्यवस्थापनका लागि वडाले गर्न सक्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हिरालाल लामो समयसम्म घर नजिकैको सानो खोरमा थुनिएर बस्न बाध्य भएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि विभिन्न निकायको ध्यानाकर्षण भएको थियो। त्यसपछि सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीको पहलमा उनलाई उद्धार गरी उपचारका लागि केन्द्रमा लगिएको थियो।
उपचारपछि स्वास्थ्यमा सुधार देखिए पनि निरन्तर हेरचाह, पारिवारिक सहयोग र नियमित औषधोपचारको अभावमा उनको अवस्था बिग्रन थालेको छ। हाल हिरालाल पुनः उपचार र पुनर्स्थापनाको प्रतीक्षामा रहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.