हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६ शान्तिटोलस्थित विपी–गणेशमान स्मृति शान्ति पार्कमा निर्माण गरिएको नयाँ प्रवेशद्वार शनिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
रानी सामुदायिक वन उपभोक्ता समूहले बागमती प्रदेश सरकारअन्तर्गत पर्यटन विकास आयोजनाको १८ लाख रुपैयाँ आर्थिक सहयोगमा प्रवेशद्वार निर्माण गरेको हो। उद्घाटनसँगै पार्क परिसरमा स्थापना गरिएका नेपाली राजनीतिक इतिहासका चार अग्रणी व्यक्तित्व—विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीका अर्धकदका शालिकसमेत अनावरण गरिएको छ।
रानी सामुदायिक वन उपभोक्ता समूहले शान्ति पार्कलाई पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्न ९ करोड रुपैयाँ लागतको गुरुयोजना तयार पारिएको जानकारी दिएको छ।
समूहका कार्यालय सचिव भीमसेन पौडेलका अनुसार २०६६ सालदेखि निर्माण सुरु भएको पार्कमा हालसम्म पर्यटन विकास आयोजना, सहरी विकास आयोजना, हेटौंडा उपमहानगरपालिका र वडा नम्बर ६ को सहकार्यमा ३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
पार्कमा रिटेनिङ वाल, कार्यालय भवन, विद्युतीकरण, पिकनिक स्थल, सार्वजनिक शौचालय तथा विभिन्न शालिक निर्माण सम्पन्न भइसकेका छन्। हाल २० लाख रुपैयाँ लागतको ज्येष्ठ नागरिक भवन र ९ लाख रुपैयाँ लागतको राधाकृष्ण मन्दिर निर्माणाधीन छन् भने वडा नम्बर ६ को ५ लाख रुपैयाँ सहयोगमा बालउद्यान निर्माण सम्पन्न गर्ने तयारी भइरहेको छ।








