हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारमा सहभागी एमालेका सबै मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रीहरूले बुधबारदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको जानकारी दिनुभयो ।मुख्यमन्त्रीलाई बुझाइएको संयुक्त राजीनामा पत्रमा मन्त्रीहरूको राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाइदिन अनुरोध गरिएको छ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदै आएको छ। एमाले सरकारबाट बाहिरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ। अब मुख्यमन्त्रीले संविधानअनुसार विश्वासको मत लिनुपर्ने वा नयाँ राजनीतिक समीकरण निर्माण हुने विषयले प्रदेशको राजनीति थप रोचक बनेको छ।








