हेटौँडा । मकवानपुरमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा हेटौँडासहित जिल्लाका विभिन्न ग्यास डिलरमा बिहानैदेखि उपभोक्ताको भीड लाग्न थालेको छ। एक सिलिन्डर ग्यासका लागि उपभोक्ताले खाली सिलिन्डर बोकेर टोकन लिनुपर्ने, त्यसपछि पनि घण्टौँ पालो कुर्नुपर्ने अवस्था बनेको छ।
बिहानै लाइनमा बसेकाले मात्र ग्यास पाउने र ढिलो पुग्ने उपभोक्ता रित्तै फर्किन बाध्य भएका छन्। कतिपयले पटक–पटक डिलर धाउँदा पनि ग्यास नपाएको गुनासो गरेका छन् भने केहीले दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्न थालेको बताएका छन्।
ग्यास डिलरहरूका अनुसार माग अत्यधिक बढेका कारण सबै उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सकिएको छैन। एक व्यवसायीका अनुसार दैनिक एक सयभन्दा बढी उपभोक्ता ग्यास लिन आउने भए पनि करिब २० वटा मात्र सिलिन्डर उपलब्ध हुने भएकाले माग धान्न नसकिएको हो। सरकारी कार्यालयलाई समेत आवश्यक परिमाणमा ग्यास दिन नसकिएको उनले बताए।
ग्यास व्यवसायीका अनुसार धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै सञ्चित गर्न थालेपछि बजारमा कृत्रिम अभाव देखिएको हो। सामान्य अवस्थामा मकवानपुरमा दैनिक ९ सयदेखि १ हजार सिलिन्डरसम्म वितरण हुने गरेकामा हाल बढ्दो मागलाई ध्यानमा राख्दै दैनिक करिब १ हजार ५ सय सिलिन्डर पठाउन थालिएको सहारा ग्यासका प्रबन्धक खड्गबहादुर थापाले बताएका छन्।
ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष नविन लामाका अनुसार सरकारले आधा भरिएको सिलिन्डरको सट्टा पूरा भरिएको सिलिन्डर उपलब्ध गराउने व्यवस्था लागू गरेपछि अभाव हुने आशंकामा धेरै उपभोक्ताले अतिरिक्त ग्यास सञ्चित गर्न थालेका छन्। त्यसकै प्रभाव बजारमा परेको भन्दै उनले हाल लाइनमा रहेका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास वितरण भइरहेको जानकारी दिए।
मकवानपुरमा हाल विभिन्न कम्पनीका ४२ वटा ग्यास डिलर तथा तिनअन्तर्गत करिब ४ सय सब–डिलरमार्फत ग्यास वितरण हुँदै आएको छ।








