हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले घोषणा गरेको पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै ‘शून्य फोहोर हेटौंडा’ अभियान सुरु गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिको संयोजनमा शुक्रबारदेखि हेटौंडाका विभिन्न क्षेत्रमा बृहत् सरसफाइ अभियान थालिएको हो।
अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ र ११ मा आयोजित सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, टोल विकास संस्था, वडा समन्वय समिति, विभिन्न सामाजिक संघ–संस्था तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली, वडा नम्बर ३ का अध्यक्ष ढलकबहादुर थापा, वडा नम्बर ९ का अध्यक्ष सुकराम केसी र वडा नम्बर ११ का अध्यक्ष जुना दाहाललगायत जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, उपमहानगरपालिकाका शाखा प्रमुख तथा कर्मचारी, विभिन्न संघ–संस्था र टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू पनि सरसफाइ अभियानमा सहभागी भएका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले हेटौंडालाई स्वच्छ र सुन्दर शहर बनाउन सबै पक्षबीचको सहकार्य आवश्यक रहेको बताए। उनले सरसफाइलाई एकदिने अभियानमा सीमित नगरी नागरिकको व्यवहार र दैनिक जीवनसँग जोडेर निरन्तरता दिनुपर्नेमा जोड दिए।
नगर प्रमुख लामाले पर्यटन वर्ष २०८३ लाई सफल बनाउन हेटौंडाको स्वच्छता र सौन्दर्य महत्वपूर्ण रहेको बताइन्। स्वच्छ वातावरण, व्यवस्थित शहर र नागरिकको सक्रिय सहभागिताबाट मात्रै हेटौंडालाई पर्यटकीय शहरका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले ‘शून्य फोहोर हेटौंडा’ अभियान औपचारिक रूपमा सुरु भएको बताए। अभियान हेटौंडाको कुनै एउटा क्षेत्र वा सडकमा मात्र सीमित नरहने भन्दै उनले टोल–टोलसम्म सरसफाइ र वातावरण संरक्षणको सन्देश पुर्याइने बताए।
उनका अनुसार अभियान सुरु भएसँगै हेटौंडाका विभिन्न टोल विकास संस्थाले आ–आफ्नो कार्यक्षेत्रमा समेत सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन्।








