पशुपतिनाथ दर्शनका लागि हेटौंडाबाट २२ श्रद्धालु पैदल यात्रामा

हेटौंडा । धार्मिक आस्था र पर्यटन प्रवद्र्धनलाई जोड्दै हेटौंडाका २२ जना श्रद्धालु भक्तजन पशुपतिनाथ मन्दिर दर्शनका लागि पैदल यात्रामा निस्किएका छन्।
मकवानपुरगढी पर्यटन विकास समन्वय समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको पैदल यात्रा शनिबार पशुपतिनाथ मन्दिर पुगेर जल चढाएपछि बुढानीलकण्ठसम्म पुगेर सम्पन्न गरिने भएको छ।

हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडालाई समेटेर हेटौंडा–९ कुस्माण्डबाट यात्रा सुरु गरिएको हो। यात्रामा करिब २५ वर्षदेखि ८४ वर्ष उमेर समूहका २२ जना श्रद्धालुको सहभागिता रहेको छ। सहभागीमध्ये ८४ वर्षीय केदार न्यौपाने पनि छन्, जो समितिका अध्यक्षसमेत हुन्।

यात्राका संयोजक शंकर बीसीका अनुसार २९ गतेदेखि सुरु भएको पैदल यात्रा ३१ गते सम्पन्न हुनेछ। सहभागीहरू शनिबार दिउँसो करिब १ बजे पशुपतिनाथ मन्दिर पुगेर जल चढाउने कार्यक्रम रहेको उनले बताए। त्यसपछि बुढानीलकण्ठतर्फ प्रस्थान गरी धार्मिक कार्यक्रम सम्पन्न गरेर गाडीमार्फत हेटौंडा फर्किने तयारी गरिएको छ।

धार्मिक आस्था र पर्यटन प्रवद्र्धनलाई एकसाथ अघि बढाउने उद्देश्यले आयोजना गरिएको पैदल यात्राले हेटौंडाको धार्मिक तथा पर्यटन गतिविधिलाई राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले धार्मिक तथा पर्यटन प्रवद्र्धनसँग जोडिएका यस्ता गतिविधिले आफूलाई खुसी बनाएको बताए। स्थानीयस्तरबाट पर्यटन प्रवद्र्धनका लागि गरिएको पहलको प्रशंसा गर्दै उनले आयोजकलाई धन्यवादसमेत दिए।

यात्रामा सहभागीहरूका लागि आवश्यक पोशाक तथा जुत्ता खरिदमा उपमहानगरपालिकाले सहयोग गरेको उपप्रमुख बानियाँले जानकारी दिए। धार्मिक पर्यटनको प्रवद्र्धनका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य गर्न नगरपालिका सकारात्मक रहेको उनले बताए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.