हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडास्थित मत्स्यपालन केन्द्र नजिक स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सानो पोखरातर्फबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको उत्तरपूर्वतर्फ रहेको पानी जमेको नालामा खसेको थियो।
मंगलबार बिहान करिब ५ः३५ बजे कान्तिलोकपथ सडकखण्डमा स्कुटर दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मोर्निङवाकमा आएका स्थानीयले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दुर्घटनामा बनेपा नगरपालिका–३, काभ्रे घर भई हाल चौघडामा बस्दै आएका बालकुमार रञ्जितकारका २६ वर्षीय छोरा आवास रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव र स्कुटर घटनास्थलमै फेला परेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







