हेटौंडा । नेपालमा लागूऔषध नियन्त्रणका नाममा पक्राउ र मुद्दा दर्ताको क्रमले फौजदारी न्याय प्रणालीमाथि थप बोझ सिर्जना गरेको भन्दै प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनासँग जोड्नुपर्नेमा जोड दिइएको छ।
बिहीबार रिकभरिङ नेपाल बागमती प्रदेश समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा भएको फौजदारी न्याय प्रणालीका सरोकारवाला निकायबीचको समन्वय बैठकमा लागूऔषध प्रयोगकर्ताको अवस्था, पक्राउ तथा मुद्दा दर्ताको तथ्यांक प्रस्तुत गर्दै यस्तो आवश्यकता औंल्याइएको हो।
रिकभरिङ नेपाल बागमती प्रदेशका फोकल पर्सन मनिषमान श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकअनुसार देशका सात प्रदेशमध्ये बागमती प्रदेशमा लागूऔषध प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी रहेको छ। बागमतीमा ३६ दशमलव ६ प्रतिशत प्रयोगकर्ता रहेको तथ्यांक प्रस्तुत गरिएको छ।
उमेर समूहका आधारमा भने २५ देखि २९ वर्ष उमेर समूहका प्रयोगकर्ता सबैभन्दा बढी ३५ दशमलव ५ प्रतिशत रहेका छन्। त्यसपछि २० देखि २४ वर्ष उमेर समूहका ३४ दशमलव ३ प्रतिशत प्रयोगकर्ता रहेको तथ्यांकमा उल्लेख छ। ३० देखि ३४ वर्ष उमेर समूहका १२ दशमलव ६ प्रतिशत, ३५ देखि ३९ वर्षका ६ दशमलव ५ प्रतिशत र १५ देखि १९ वर्षका ६ दशमलव २ प्रतिशत रहेका छन्।
श्रेष्ठका अनुसार लागूऔषध प्रयोगसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखिने गरेका छन्। सन् २०२० को तथ्यांक उद्धृत गर्दै उनले लागूऔषध प्रयोगकर्तामा एचआईभी, एसटीआईलगायत संक्रमणको जोखिम रहेको जानकारी दिए।
लागूऔषध नियन्त्रणको वर्तमान अभ्यासले फौजदारी न्याय प्रणालीमा समेत ठूलो बोझ थपेको श्रेष्ठको भनाइ छ। उनका अनुसार नेपालका कारागारमा रहेका हरेक पाँचमध्ये एक जना लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन्।
गृह मन्त्रालयको सर्वेक्षणलाई उद्धृत गर्दै उनले कुल लागूऔषध प्रयोगकर्तामध्ये ९७ प्रतिशतलाई कम्तीमा एकपटक प्रहरीले पक्राउ गरेको र पक्राउ परेकामध्ये ३२ प्रतिशतविरुद्ध फौजदारी मुद्दा चलाइएको जानकारी दिए।
पछिल्ला वर्षको तथ्यांकले पनि लागूऔषधसम्बन्धी मुद्दाको चाप देखाउँछ। आर्थिक वर्ष २०७६/७७ मा लागूऔषध कसुरमा ४ हजार ५ सय ५४ जना पक्राउ पर्दा २ हजार ९ सय ३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। २०७७/७८ मा ४ हजार ६ सय २६ जना पक्राउ र ३ हजार १३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।
त्यस्तै २०७८/७९ मा ५ हजार ७ सय ८४ जना पक्राउ पर्दा २ हजार ८ सय ५६ जनाविरुद्ध, २०७९/८० मा ६ हजार १ सय ८७ जना पक्राउ पर्दा ४ हजार १ सय २ जनाविरुद्ध र २०८०/८१ मा ६ हजार ७ सय १५ जना पक्राउ पर्दा ४ हजार ३ सय १९ जनाविरुद्ध मुद्दा दर्ता भएको तथ्यांक प्रस्तुत गरिएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ८ सय ९० जना लागूऔषध कसुरमा पक्राउ परेको तथ्यांक प्रस्तुत गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को असोजसम्म मात्रै १ हजार ६ सय ११ जना पक्राउ पर्दा १ हजार ५३ जनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको श्रेष्ठले जानकारी दिए।
लागूऔषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार २०८० असारदेखि चैतसम्म लागूऔषधसम्बन्धी ३ हजार १ सय ५७ फौजदारी मुद्दा अदालतमा दायर भएका थिए।
श्रेष्ठले लागूऔषध प्रयोगकर्तालाई केवल अपराधीका रूपमा हेर्नुभन्दा उपचार र पुनर्स्थापनाको दृष्टिकोणबाट हेर्नुपर्ने बताए। लागूऔषध प्रयोगकर्ताका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ अनुसार देशभर २५० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालनमा रहेको उनले जानकारी दिए।
उनका अनुसार लागूऔषध प्रयोगकर्ताका हकमा विद्यमान कानुनी व्यवस्थाबारे सरोकारवालामा पर्याप्त जानकारी नहुनु तथा अल्प मात्रामा लागूऔषध राख्ने वा प्रयोग गर्ने सम्बन्धमा स्पष्ट मापदण्ड नहुनु प्रमुख चुनौतीका रूपमा देखिएको छ।
लामो समयदेखि लागूऔषध प्रयोग गरिरहेका व्यक्तिले प्रयोग बन्द गर्दा शारीरिक तथा मानसिक समस्या देखिन सक्ने भएकाले हिरासतमा रहेका प्रयोगकर्तालाई आवश्यक चिकित्सकीय सहायता र उपचारमा पहुँच दिनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपचार पद्धतिलाई सहज र प्रभावकारी बनाउनुपर्ने लगायतका विभिन्न सुझाव दिएका थिए।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सियान लगायतका संस्थाहरूले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे। साथै केही सुधार गृहमा सुधार गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँदै अनुगमनका क्रममा देखिएका समस्या दोहोरिन नदिन आग्रह गरे। उनले पटकपटक एउटै विषयमा ध्यानाकर्षण गराउनुपर्ने अवस्था नआउने गरी सुधारगृह सञ्चालन गर्न आग्रह गरेका थिए।








