हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
शनिबार बिहान करिब ९ः३० बजे घर नजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा पानी तान्ने मोटरमा जोडिएको बिजुलीको तार काटिएपछि स्थानीय ५० वर्षीय हिरा गोतामेलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका गोतामेलाई उपचारका लागि हेटौंडास्थित सीएमसी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव सोही अस्पतालमा राखिएको छ।
प्रतिकृया दिनुहोस्







