हेटौँडा । रसुवा जिल्लामा भदौ १० गते बुधबार बिहान आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि मनहरी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मनहरी गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पालिकाको तर्फबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बैठकले गाउँपालिका अध्यक्षको तीन महिनाको तथा अन्य जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा रकमसमेत सोही कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको पत्रअनुसार आवश्यक उद्धार सामग्रीसमेत सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
बाढीबाट प्रभावित नागरिकका लागि थप सहयोग जुटाउन गाउँपालिकाले स्थानीय उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र समिति, सामुदायिक वन उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी संघसंस्था र सर्वसाधारणलाई खाद्यान्न तथा जिन्सी सामग्री संकलन गरी सम्बन्धित क्षेत्रमा पुर्याउने अभियानमा सहयोग गर्न अपिल गरेको छ।







