हेटौंडामा ईभी र सुमो ठोक्किँदा ११ जना घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा यात्रुबाहक ईभी र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, आइतबार दिउँसो करिब १२ः३० बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको यात्रुबाहक ईभीले विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज.५८७३ नम्बरको यात्रुबाहक सुमोलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा सुमो चालकसहित ६ जना र ईभी चालकसहित ५ जना गरी ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये सुमो चालक पर्साको बिन्दवासिनी गाउँपालिका–३ का ३४ वर्षीय रविन्द्र उपाध्यायको दुवै खुट्टा र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।
त्यस्तै, सुमोमा सवार वीरगञ्ज महानगरपालिका–३१ की ३१ वर्षीया राधिका देवीको टाउको र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। सोही स्थानकी २६ वर्षीया रेखा ओझा, ४० वर्षीया उपम देवी, वीरगञ्ज–१५ का ३२ वर्षीय शौरव कुमार गुप्ता र शौरवका ३० महिनाका छोरा सौर्य साह पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।
ईभी चालक गोरखाको आरुघाट गाउँपालिका–७ का ३० वर्षीय सोमबहादुर गुरुङको छातीमा चोट लागेको छ। ईभी मा सवार रौतहट बृन्दावन नगरपालिका–९ की ८ वर्षीया खजिना खातुन, सर्लाही बरहथवा नगरपालिका–८ का ३१ वर्षीय हरिन्द्र राय, गौडैटा नगरपालिका–६ का ३१ वर्षीय राकेश महन्त र सोही स्थानका २२ वर्षीय शत्रुधन कुशहवा पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। दुवै सवारीसाधन प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेका छन्। दुर्घटनापछि सडकमा कुनै अवरोध नरहेको र घटनास्थलमा ट्राफिक प्रहरीसहितको टोली खटिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.