हेटौँडा । अन्तर्राष्ट्रिय बेपत्ता दिवस २०८३ को अवसरमा हेटौँडामा द्वन्द्व तथा तत्कालीन प्राकृतिक विपत्तिसँग सम्बन्धित बेपत्ताको खोजी, परिवारको न्याय र सम्मानका विषयमा छलफल तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।
‘बेपत्ताको खोजी, परिवारको न्याय र सम्मान’ भन्ने नाराका साथ आइतबार हेटौँडा–११ थानाभर्याङस्थित मानव अधिकारका लागि महिला एकल महिला समूहको सहारा भवनमा कार्यक्रम आयोजना गरिएको हो।
मानव अधिकारका लागि महिला एकल महिला समूह, बागमती प्रदेशको आयोजनामा तथा कुर्वे उस्ट्रोको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रममा बेपत्ता परिवारका समस्या, उनीहरूको खोजी तथा न्यायका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै समूहकी प्रदेश अधिकृत अप्सरा ढकालले नेपालमा भदौ १४ गते अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको जानकारी दिइन्। उनले बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्न तथा उनीहरूका परिवारले न्याय र सम्मान पाउनुपर्नेमा जोड दिइन्।
समूहकी अध्यक्ष शारदा चौलागाईंले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी सामान्य कार्यक्रममार्फत दिवस मनाइएको जानकारी दिइन्।
कार्यक्रमको अन्त्यमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा बेपत्ताहरूको सम्झनामा दीप प्रज्वलन गर्दै कार्यक्रम समापन गरिएको थियो।









