हेटौँडामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२६ हुँदै

हेटौँडा । जेसीआई हेटौँडा लेडीको आतिथ्यतामा आगामी भदौ १९ र २० गते हेटौँडामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन–२०२६ आयोजना हुने भएको छ। ‘संकल्प गरौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

बुधबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनमा नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाबाट ७ सयभन्दा बढी प्रतिनिधि तथा सहभागीको सहभागिता रहने जानकारी दिइएको हो। सम्मेलनमा क्षेत्र ‘ख’ अन्तर्गतका ११ जिल्लाका जेसीज सदस्य, पदाधिकारी, सक्रिय युवा तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

युवाको नेतृत्व विकास, व्यक्तित्व निर्माण, क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जेसीआई हेटौँडा लेडीकी अध्यक्ष नम्रता श्रेष्ठले जानकारी दिइन्।
सम्मेलन सम्पन्न गर्न करिब ४५ लाखदेखि ५५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको सम्मेलन सभापति जेसी सोप्ना पौडेल भण्डारीले बताइन्। उनका अनुसार सहभागीको दर्ता शुल्क, विभिन्न संघसंस्था, शुभेच्छुक, व्यक्तिगत योगदान तथा सहयोगी निकायको सहकार्यबाट सम्मेलनको आर्थिक व्यवस्थापन गरिनेछ।आयोजकले सम्मेलनको आर्थिक व्यवस्थापनमा पारदर्शिता, जिम्मेवारी र जवाफदेहितालाई उच्च प्राथमिकता दिइने जनाएको छ।

देशभरका ८० भन्दा बढी जेसीज शाखामार्फत हालै प्रभावित क्षेत्रमा राहत तथा सहयोग वितरण गरिएको आयोजकले जनाएको छ।
दिवंगत आत्माहरूप्रति सम्मान तथा पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै भदौ २० गते बिहान ७ बजे हेटौँडामा शान्ति पदयात्रासमेत आयोजना गरिने भएको छ। शान्ति, सद्भाव, एकता र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.