हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ मा रहेका १६ वटा टोल विकास संस्थालाई समेटेर टोल विकास संस्था वडा समन्वय समिति गठन गरिएको छ।
बुधबार सम्पन्न भेलाले लीलाधर दाहालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा मोनिका विक, सचिवमा सरस्वती दुलाल, कोषाध्यक्षमा राधा कार्की र सहसचिवमा पार्वती थापा चयन भएका छन्।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाअध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रवती पनेरुलगायतको उपस्थिति थियो।
प्रमुख अतिथि कोइरालाले टोल विकास संस्था स्थानीय तह र नागरिकबीचको महत्वपूर्ण सेतु भएको बताउँदै वडा समन्वय समिति गठनसँगै वडाका टोल विकास संस्थालाई थप सक्रिय र व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। उनले स्थानीय विकास, सरसफाइ, सामाजिक एकता तथा नागरिकका समस्या समाधानमा टोल विकास संस्थाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
विशेष अतिथि अधिकारीले वडाभित्रका टोल विकास संस्थालाई एउटै छातामुनि संगठित गरी एकीकृत रूपमा परिचालन गर्न वडा समिति महत्वपूर्ण संरचना भएको बताए। उनले सामाजिक जागरण, वातावरण संरक्षण, सरसफाइ, विपद् व्यवस्थापन तथा नागरिक सहभागिता अभिवृद्धिमा टोल विकास संस्थालाई सक्रिय बनाउनुपर्ने धारणा राखे।
वडाका सबै टोल विकास संस्थाबीच समन्वय कायम गर्दै विकास निर्माण तथा सामाजिक गतिविधिमा नागरिक सहभागिता बढाउने, टोल विकास संस्थालाई थप सक्रिय बनाउने र वडाका साझा समस्या समाधानमा सामूहिक पहल गर्ने उद्देश्यले समिति गठन गरिएको हो।








