हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोल र नाइट्राजेपामसहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६, पूर्वेली दमारका २१ वर्षीय रञ्जन भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान ९ः४५ बजे सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले भोम्जनको घरमा खानतलासी गरेको थियो। सो क्रममा उनको कोठामा लुकाइराखेको अवस्थामा ट्रामाडोल ४ हजार ८ सय ६० क्याप्सुल र नाइट्राजेपाम ३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै भोम्जनको साथबाट एन्टी कफ १ हजार ४० ट्याब्लेट, एउटा चक्कु तथा उनले प्रयोग गर्ने बा ३१ प ७१९२ नम्बरको भीआर मोटरसाइकल र बा ८४ प ६०७० नम्बरको अपाचे मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद थप गरी भोम्जनमाथि अनुसन्धान गरिरहेको जनाएको छ।
बरामद एन्टी कफ औषधिका सम्बन्धमा भने औषधि विभाग कार्यालय वीरगन्ज, पर्सासँग समन्वय गरी आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।








