छोरीले आगो देख्दा जोगियो तीन जनाको ज्यान, घर भने खरानी

हेटौँडा । रातको समय। घरमा सबैजना निदाइसकेका थिए। अचानक सीतादेवी कठायतकी छोरी निद्राबाट ब्युँझिइन्। बाहिर निस्किँदा उनले घरमा आगो लागेको देखिन्। उनले तत्काल आमालाई खबर गरिन्। सीतादेवी बाहिर निस्किँदा भने आगो ठूलो भइसकेको थियो।

घरभित्र नातिनी सुतिरहेको सम्झिएपछि सीतादेवी हतारिँदै फेरि आगो लागेको घरभित्र पसिन् र नातिनीलाई बाहिर निकालिन्। त्यसपछि भने घरभित्रका सामान जोगाउने समय नै भएन।

मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा सोमबार राति करिब ११ बजे भएको आगलागीमा सीतादेवी, उनकी छोरी र नातिनी सकुशल जोगिए। तर, उनीहरूको घरसहित वर्षौँदेखि जोडेको सम्पत्ति केही समयमै आगोमा खरानी भयो।

‘छोरीले आगो लागेको नदेखेको भए हामी तीनै जनाको ज्यान बच्ने थिएन,’ सीतादेवीले भनिन्, ‘छोरीकै कारण हामी तीन जनाको ज्यान बच्यो।’

आगलागीबाट घरसँगै भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। परिवारका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घरमा रहेका लत्ताकपडा, भाँडावर्तन, काठपात, खाने अन्न, नगद ७० हजार रुपैयाँ, करिब चार तोला सुन, मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने क्यामरा तथा कम्प्युटरको पूर्ण सेटसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ।

घरमा रोकिराखेको मोटरसाइकलसमेत जोगाउन सकिएन। आगो तीव्र रूपमा फैलिँदै गएपछि सामान निकाल्ने अवस्था नै नरहेको परिवारको भनाइ छ।

‘खाने अन्न सबै जलेर नष्ट भयो। घरमा भएको सबै सामान खरानी भयो,’ सीतादेवीले भनिन्, ‘अहिले हामीसँग लगाएको एक जोर कपडाबाहेक केही पनि बाँकी छैन।’

आगलागीबाट तीन जनाको ज्यान जोगिए पनि परिवार अहिले घरबारविहीन भएको छ। उनीहरूलाई तत्काल बस्ने ठाउँ, खानेकुरा, लत्ताकपडा तथा दैनिक जीवनका अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ।

मकवानपुरमा एक वर्षमा ४३ वटा घर तथा गोठमा आगलागी
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा ११ वटा पक्की घर, २२ वटा कच्ची घर र १० वटा गोठमा आगलागी भएको थियो।
आगलागीका घटनामा एक जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। त्यस्तै १२ वटा पन्छी र २४ वटा चौपायाको मृत्यु भएको तथा तीनवटा चौपाया घाइते भएका थिए।
प्रहरीका अनुसार सो अवधिमा तीनवटा उद्योग तथा पसल र दुईवटा सरकारी कार्यालयमा समेत आगलागी भएको थियो। चारवटा पक्की तथा झोलुङ्गे पुलमा पनि आगलागी भएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.