हेटौँडा । चार दिनदेखि पेटमा अन्न परेको थिएन। शरीरभरि चोटका निशान थिए। घर फर्किन चाहन्थे, तर साथमा फर्किने खर्च थिएन। हेटौँडा आएर दुर्घटनामा परेका सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्ण भुजेल यस्तै अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्धार गरेको छ।
हेटौँडा–१ चौकीटोलमा बिहीबारदेखि सञ्चालन भइरहेको निःशुल्क खाना खुवाउने कार्यक्रममा भुजेल लगातार खाना खान आउन थालेपछि स्थानीयले उनको अवस्थाबारे सोधपुछ गरेका थिए। त्यसक्रममा उनले आफू चार दिनदेखि केही नखाई भोकै रहेको बताएका थिए।
उनको शरीरमा चोटपटक धेरै देखिएको थियो। घाउ देखाउँदै उनले उपचार गरिदिनसमेत आग्रह गरिरहेका थिए।
भुजेलका अनुसार उनी करिब दुई महिनाअघि हेटौँडा आएका थिए। हेटौँडा आएपछि दुर्घटनामा परेपछि घर फर्किन सकेनन्। घर फर्किने खर्च नभएपछि उनी हेटौँडामै बस्न बाध्य भएका थिए।
घर फर्किने कुनै व्यवस्था नभएपछि सहयोगको खोजीमा रहेका भुजेलको अवस्थाबारे चौकीटोलमा रहेका व्यक्तिहरूले नगर प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी पाएपछि नगर प्रहरीले भुजेलको उद्धार गरी हेटौँडा–९ स्थित मानव सेवा आश्रममा लगेको छ।







