हेटौँडा । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी र हेटौँडा उपमहानगरपालिका कमिटीको अन्तिम लेखापरीक्षण सम्पन्न भएको छ।
अन्तिम लेखापरीक्षणअघि जिल्ला तथा नगर कमिटीका लेखा समितिले आन्तरिक लेखापरीक्षण गरेका थिए। त्यसपछि नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराइलीले अन्तिम लेखापरीक्षण गरेका हुन्।
लेखापरीक्षणपछि जिल्ला कमिटीको प्रतिवेदन कार्यवाहक जिल्ला अध्यक्ष हिदम लामालाई र हेटौँडा नगर कमिटीको प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्तोलालाई हस्तान्तरण गरिएको छ।
प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिनले पार्टीको केन्द्रीय लेखा आयोगले प्रदेश, जिल्ला तथा पालिका तहसम्मका कमिटीहरूको लेखापरीक्षण गर्ने व्यवस्था रहेको बताइन्।
लेखापरीक्षणका क्रममा दोहोरो लेखा प्रणालीअनुसार हरहिसाब व्यवस्थित रूपमा राखिएको, आम्दानी पारदर्शी रहेको र खर्च मितव्ययी देखिएको उनले बताइन्। लेखालाई थप व्यवस्थित बनाउन केही सुझाव दिँदै पाख्रिनले लेखापरीक्षणमा सहयोग गर्ने सबैलाई आयोगका तर्फबाट धन्यवाद दिइन्।
केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मकवानपुर जिल्ला कमिटीले विगतदेखि नै लेखासम्बन्धी नियमअनुसार हरहिसाब व्यवस्थित गर्दै नियमित रूपमा लेखापरीक्षण गराउँदै आएको बताए।
उनका अनुसार बागमती प्रदेशअन्तर्गतका १० जिल्लामध्ये मकवानपुरबाट र पालिकातर्फ हेटौँडा उपमहानगरपालिकाबाट लेखापरीक्षण सुरु गरिएको हो। अन्य जिल्ला तथा पालिकाहरूको लेखापरीक्षण मंसिर मसान्तसम्म सम्पन्न गरिने उनले जानकारी दिए।
सिग्देलले मकवानपुर जिल्लाका राजनीतिक दलमध्ये पार्टीको आन्तरिक हरहिसाब व्यवस्थित र पारदर्शी रूपमा राख्ने कार्यमा एमाले पहिलो रहेको दाबीसमेत गरे।
लेखापरीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेश बर्तौला, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला कमिटी तथा हेटौँडा उपमहानगरपालिका कमिटीका पदाधिकारीलगायतको उपस्थिति थियो।
लेखापरीक्षणका क्रममा प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले प्राविधिक सहयोग गरेका थिए।








