काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ३०औँ वार्षिक साधारण सभा २०८३ असोज २० गते मंगलबार काठमाडौँमा सम्पन्न भएको छ।
सभालाई सम्बोधन गर्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले ३५ वर्षभन्दा लामो इतिहास बोकेको संस्थाको साख जोगाउँदै इन्सेकलाई थप जवाफदेही, पारदर्शी र परिणाममुखी बनाउन वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो।
दातृ निकायहरूको बदलिँदो नीति तथा प्राथमिकताका कारण बजेटको आकारमा केही सङ्कुचन आए पनि भौतिक सम्पत्तिको उपयोग, प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारी र आन्तरिक स्रोत व्यवस्थापनमार्फत संस्थागत दिगोपना कायम गर्ने योजना अघि बढाइएको उहाँले बताउनुभयो।
साधारण सभामा महासचिव गीता बरालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लता प्याकुरेलले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सभाले समसामयिक विषयमा छलफल गर्दै विभिन्न विषय समेटिएको घोषणापत्रसमेत पारित गरेको छ। घोषणापत्रमा मानवअधिकार, सामाजिक न्याय तथा समसामयिक विषयसँग सम्बन्धित विभिन्न सवाल समेटिएका छन्।








