हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले वडा नं. ४ को विकासलाई वडागत सीमामा मात्र सीमित नराखी बागमती प्रदेश राजधानीको समग्र पहिचान र विकाससँग जोडेर अघि बढाइएको बताएका छन् ।
चिल्ड्रेन पार्क टोल विकास संस्थाको २४औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले हेटौँडा–४ प्रदेश राजधानीको मुहार भएकाले यस क्षेत्रलाई उत्कृष्ट र सुविधासम्पन्न राजधानीको नमुना बनाउने गरी काम भइरहेको बताए ।
उनका अनुसार व्यवस्थित भौतिक पूर्वाधार, शिक्षा, खेलकुद, धार्मिक पर्यटन तथा खुला मैदानको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ । सवारीसाधन सडकबाट र पैदलयात्री पेटीबाट आवतजावत गर्ने व्यवस्था, भूमिगत ढल प्रणाली, हरित नगर तथा उज्यालो र सुरक्षित सहर निर्माणमा समेत ध्यान दिइएको उनले बताए ।
आफ्नो कार्यकालमा वडाभित्र स्तरीय विद्यालय भवन, दुईवटा कभर्ड हल, किरियापुत्री भवन, योग भवन, सार्वजनिक शौचालय, घरेलु उत्पादन तथा प्रदर्शनी भवन, प्रहरी कार्यालय, स्वास्थ्य केन्द्र र ज्येष्ठ नागरिक कक्षलगायतका संरचना निर्माण गरिएको सिग्देलले जानकारी दिए । साथै, चिल्ड्रेन पार्कको स्तरोन्नति, श्रमिक पार्क तथा खेलमैदान निर्माणका कामसमेत गरिएको उनले बताए ।
सफा तथा हरियाली सडक, गुणस्तरीय विद्यालय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ थियो । महिला, बालबालिका तथा युवाको क्षमता अभिवृद्धि र सीप विकासका कार्यक्रम पनि नियमित रूपमा सञ्चालन भइरहेको उनले बताए ।
केही सडक निर्माणका काम भने निर्माण व्यवसायीको उदासीनता, बजारमा निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै अध्यक्ष सिग्देलले अधुरा कामलाई यथाशीघ्र अगाडि बढाउन आफूहरू लागिपरेको बताए ।
टोल विकास संस्थाकी अध्यक्ष सुशीला श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा सामाजिक अगुवाहरू बद्रीप्रसाद लम्साल र गणेश श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभाले संस्थाको वार्षिक प्रगति विवरण तथा आयव्यय पारित गरेको थियो । साथै, उत्कृष्ट बचतकर्ता, ऋणी तथा नियमित उपस्थित हुने सदस्यहरूलाई सम्मान गरिएको संस्थाकी सचिव कल्पना थापाले जानकारी दिइन् ।








