मकवानपुर ।भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका थाहा नगरपालिकाका बालबालिकाको पठनपाठनको जिम्मा नगरपालिकाले लिने भएको छ। परिवारको मुख्य कमाउने व्यक्ति बेपत्ता भएपछि प्रभावित बालबालिकाको शिक्षामा समस्या हुन नदिन नगरपालिकाले यस्तो निर्णय गरेको हो।
थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टका अनुसार बाढीमा अभिभावक बेपत्ता भएका परिवारका बालबालिकाको विवरण संकलन भइरहेको छ। तथ्यांक संकलनपछि उनीहरूको पठनपाठनको आवश्यक व्यवस्था मिलाइने उनले बताए।
भदौ १० गते भोटेकोशीमा आएको बाढीमा थाहा नगरपालिकाका २० जना बेपत्ता भएका थिए। घटना भएको ४५ दिन बितिसक्दा पनि उनीहरूमध्ये एक जना पनि फेला परेका छैनन्। बेपत्ता हुनेमा १९ जना चालक र एक जना नेपाली सेनाका जमदार छन्।
बेपत्ता व्यक्तिका परिवारलाई राहतस्वरूप थाहा नगरपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार खोजी कार्यमा सहयोग पुर्याउन प्रत्येक परिवारलाई तत्काल २० हजार रुपैयाँ उपलब्ध गराइसकिएको छ। बाँकी ८० हजार रुपैयाँ भने मृत्यु दर्ता गराएपछि उपलब्ध गराइने नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले जानकारी दिए।
लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि अधिकांश परिवारले आफ्नो परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टिसमेत गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकअनुसार भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न स्थानीय तहका गरी ५८ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये हेटौँडा उपमहानगरपालिकाका २१ जना, थाहा नगरपालिकाका २० जना, मनहरीका चार जना, मकवानपुरगढीका तीन जना, भीमफेदीका दुई जना, बकैयाका तीन जना, इन्द्रसरोवरका दुई जना, कैलाशका दुई जना र राक्सिराङका एक जना रहेका छन्।
बाढीमा फसेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये चार जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा हेटौँडा–१५ का सुमन गोले र रमेश मगर, हेटौँडा–५ का उद्धव खड्का तथा भीमफेदी–२ का सविन राना रहेका छन्।







