चेपाङ बस्तीमा घर र न्यानो कपडाको व्यवस्था गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपन्न चेपाङ परिवारलाई जाडोबाट जोगाउन न्यानो कपडा उपलब्ध गराउनुका साथै आवासविहीन परिवारका लागि घर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार मकवानपुरको मनहरी गाउँपालिकास्थित चेपाङ बस्तीको निरीक्षण गर्दै मुख्यमन्त्री थापा मगरले वर्षौंदेखि राज्यको मूलप्रवाहबाट वञ्चित चेपाङ समुदायको जीवनस्तर सुधार गर्न प्रदेश सरकार संवेदनशील रहेको बताए ।
बढ्दो चिसोलाई ध्यानमा राख्दै न्यानो कपडाको अभावमा कसैले पनि कठ्याङ्ग्रिनु नपर्ने र आवासको अभावमा कष्ट भोग्नुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने उनको भनाइ थियो ।
चेपाङ समुदायको आर्थिक अवस्था सुधार गर्न कुखुराका चल्ला तथा बाख्राका पाठापाठी वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उनले जानकारी दिए । मुख्यमन्त्री थापा मगरले बाख्रा मासुका लागि काटेर खानुभन्दा पालनपोषण गरी संख्या वृद्धि गर्न आग्रह गर्दै पशुपालनलाई आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए ।
यसैबीच, नेकपा एमाले मनहरी गाउँपालिका–६ कमिटीले चेपाङ समुदायका तीन विपन्न परिवारका लागि निर्माण गरेका घर हस्तान्तरण गरेको छ । मानबहादुर प्रजा, रवीलाल प्रजा र सूर्यबहादुर प्रजाका परिवारलाई मुख्यमन्त्री थापा मगरले बिहीबार घर हस्तान्तरण गरेका हुन् ।
एमालेले पार्टी सदस्यहरूबाट रकम संकलन गरी प्रतिघर तीन लाख रुपैयाँको लागतमा घर निर्माण गरेको जनाएको छ ।
घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले घरबारविहीन नागरिकका लागि आवास निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले एक हजार घर निर्माण गर्ने लक्ष्यसहित बजेट व्यवस्था गरेको छ ।
‘एक घर निर्माणका लागि चार लाख रुपैयाँ बजेट राखेका छौँ । प्रदेश सरकारले एक हजार घर बनाउने गरी बजेट विनियोजन गरेको छ । जसको घर छैन, उहाँहरूकै लागि उक्त बजेट छुट्याएका छौँ । तिहारपछि नै हामीले त्यो काम सुरु गर्छौँ,’ उनले भने ।
उनले आवासविहीन चेपाङ परिवारलाई समेत प्रदेश सरकारको आवास कार्यक्रममार्फत समेटिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला, जिल्ला अध्यक्ष हृदयराम लामा लगायतका नेता तथा स्थानीयवासीको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.