नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा विकेशलाल श्रेष्ठको उम्मेदवारी

हेटौँडा । नेपाल जेसीजको सन् २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा हेटौँडा जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीजका वर्तमान कार्यकारिणी उपाध्यक्ष विकेश लाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

सन् २०१८ मा हेटौँडा जेसीजको साधारण सदस्यका रूपमा जेसीज अभियानमा आबद्ध भएका श्रेष्ठले शाखादेखि राष्ट्रिय तहसम्मका विभिन्न जिम्मेवारी निर्वाह गर्दै राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
जेसीज यात्राको सुरुवाती चरणमा सन् २०१९ मा खेलकुद संयोजक, २०२० मा उपाध्यक्ष, २०२१ मा शाखा सम्पादक र २०२२ मा महासचिवको जिम्मेवारी सम्हाल्नुभएका श्रेष्ठ सन् २०२३ मा कार्यकारिणी उपाध्यक्ष बनेका थिए । त्यसपछि सन् २०२४ मा हेटौँडा जेसीजको अध्यक्ष, २०२५ मा नेपाल जेसीजको महासचिव र २०२६ मा नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए।
शाखा नेतृत्वदेखि राष्ट्रिय कार्यसमितिसम्मको अनुभवलाई आधार बनाउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका श्रेष्ठले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको आकांक्षाभन्दा संस्थागत सुदृढीकरण र सामूहिक नेतृत्वको अभियानका रूपमा व्याख्या गरेका छन् ।उनले नेपाल जेसीजलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउँदै हरेक सदस्यको आवाजलाई संस्थाको नेतृत्वसम्म पुर्‍याउने तथा सबै शाखालाई समान अवसर र सहभागिताको वातावरण निर्माण गर्ने लक्ष्य अघि सारेका छन् ।
उम्मेदवारी दर्तापछि सन्देश जारी गर्दै श्रेष्ठले आफ्नो आठ वर्षे जेसीज यात्रामा प्राप्त जिम्मेवारी र अवसरलाई अग्रज, समकालीन तथा सम्पूर्ण जेसीजकर्मीको विश्वास, माया र सहयोगको परिणामका रूपमा स्मरण गरेका छन् । आगामी नेतृत्व यात्रामा पनि सबैको सुझाव, मार्गदर्शन र समर्थनको अपेक्षा गर्दै उनले आफ्नो उम्मेदवारीलाई साझा अभियानका रूपमा लिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.