भीमफेदी दुर्घटना; सहमतिपछि आजै १४ शव आफन्तलाई बुझाइने

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनाको शव आजै पोस्टमार्टम गरी आफन्तलाई बुझाइने भएको छ। पीडित परिवार र सरकारद्वारा गठित दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति जुटेपछि शव बुझाउने बाटो खुलेको हो।
दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको शव हेटौँडा अस्पतालमा राखिएको थियो। मृतकका आफन्तले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग अघि सार्दै शव बुझ्न अस्वीकार गरेका थिए।
शव बुझाउने विषयमा सहमति नजुट्दा अस्पतालमा शव व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको थियो। हेटौँडा अस्पतालमा एकपटकमा चारवटा मात्रै शव राख्न सकिने क्षमता रहेकाले १४ वटा शव एकैपटक व्यवस्थापन गर्न कठिनाइ भएको अस्पतालले जनाएको थियो।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार सहमतिअनुसार कानुनबमोजिम पाउने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्नेछ। त्यसबाहेक थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आग्रह गर्ने सहमति भएको छ।
सहमति जुटेसँगै पोस्टमार्टम हुन बाँकी नौ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ। हेटौँडा अस्पतालले पोस्टमार्टमका लागि आवश्यक तयारी पूरा गरिसकेको छ। बाँकी प्रक्रिया सम्पन्न गरी आजै सबै १४ शव आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.