मकवानपुर प्रहरीले औधोगिक क्षेत्रभित्र चोरी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जेठ २७ गते हेटौंडा -८ औधोगिक क्षेत्रभित्र रहेको रबर उद्योग प्रा.लि. बाट बाल्टिन तथा ग्यालिन उत्पादन गर्ने मेसिनमा प्रयोग हुने मेसिनरी औजर र सेन्सर समेत गरी अन्दाजी २०/२२ लाख मुल्य बराबरको सामान चोरी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ पर्नेमा सोही फ्याक्ट्रीमा प्लान्ट ईन्चार्ज तथा स्टोर्स किपरको रुपमा कामकाज गर्ने जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ बस्ने वर्ष ४९ को पुष्पारंजन दत्त रहेको प्रहरीले जनाएको छ। उनलाई चोरी गरेको सिसिटिभि फुटेजबाट देखिएको आधारमा पक्राउ गरिएको हो। प्रतिवादी वारदात पश्चात फरार रहेकोमा खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा साउन ७ गते जिल्ला चितवन भरतपुर महानगरपालिका – ४ लंकुस्थितबाट नियन्त्रणमा लिइएको हो। चोरी तथा डांका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।










