मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। श्रीमानले आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेका छन्।
४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको हत्या गरेको प्रहरी स्रोतले जनाएको छ। घटना सोमबार बिहान करिब ६ बजे भएको हो।
मानबहादुर विगतदेखि ससुरालीमा बस्दै आएका थिए। घटनाको करिब दुई घण्टापछि बिहान साढे ८ बजे उनी स्वयं मकवानपुर जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए। प्रहरी स्रोतका अनुसार, उनले तनावका कारण श्रीमतीको घाँटी थिची हत्या गरेको र पछि आफू पनि आत्महत्या गर्न खोज्दा डोरी चुँडिएर ज्यान जोगिएको बताएका छन्।
मृतक दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसको रोगले पीडित थिइन् र हिँडडुल गर्न असमर्थ थिइन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली खटिएको छ।
प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा प्रमुख टोली घटनास्थल पुगेको छ भने इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्र.नि. बिरेन्द्र रायमाझीको टोलीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार शव ओछ्यानमा उतानो अवस्थामा फेला परेको छ। घटनास्थल सुरक्षित राखिएको छ र विस्तृत अनुसन्धानका लागि थप कानुनी प्रक्रिया अघि बढाइएको छ।









