हेटौंडा – हेटौंडा–२ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा आगामी भदौ ६, ७, ८ र ९ गते “रक्तदान महादान” नामक विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। नेपाल, भारतसहित विश्वका अन्य देशहरूमा समेत सञ्चालन हुने यस अभियानले आध्यात्मिक चेतना र समाजसेवालाई एकैसाथ अघि बढाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।
कार्यक्रम विश्व बन्धुत्व दिवसको अवसर पारेर आयोजना गरिएको हो। आयोजकका अनुसार यो अभियानबाट करिब एक लाख जनाबाट रगत संकलन गरि विश्वमै नयाँ कीर्तिमान राख्ने लक्ष्य लिइएको छ।
रक्तदान कार्यक्रमको सुरुवात हेटौंडा–१, चौकिटोलस्थित हिमालय दरबार पार्टी प्यालेसबाट भदौ ६ गते बिहान ७ बजे गरिनेछ। उद्घाटनको दिनमै करिब ५ सय व्यक्तिले रक्तदान गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्वव्यापी रुपमा सन्देश प्रवाह गर्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरेको हो। आयोजकहरूले सबैलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका छन्।










