पशुपति मन्दिरमा हेल्थ डेस्क सञ्चालन, २६७ जनाले सेवा लिए

 

हेटौंडा । हरितालिका तीजको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, मकवानपुरले मंगलबार हेटौंडा–४ स्थित पशुपति मन्दिर परिसरमा स्वास्थ्य सेवा उपलब्ध गराएको छ। व्रत बसेर पूजाआजा गर्न आउने महिलाहरूलाई लक्षित गर्दै बिहान ७:३० बजेबाट सुरु भएको ‘हेल्थ डेस्क’ दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो।

महासंघका अनुसार डेस्कमार्फत महिलाहरूको रक्तचाप (प्रेसर), रक्तमा चिनीको मात्रा (सुगर) जाँच गरी आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको हो। उपवासका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जटिलता मध्यनजर गर्दै विशेष तयारीका साथ सेवा प्रदान गरिएको महासंघले जनाएको छ।

महासंघ मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले कार्यक्रमबारे जानकारी दिँदै भने, “तीजको दिन महिलाहरू लामो समयसम्म खाली पेट बस्ने हुँदा स्वास्थ्यमा समस्या आउन सक्छ। त्यसलाई ध्यानमा राखेर हामी हरेक वर्ष यस्तो स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका छौं।” उनका अनुसार यो वर्ष जम्मा २६७ जनाले सेवा लिएका छन्।

कार्यक्रममा बागमती प्रदेश सचिव सुशील आचार्य, जिल्ला उपाध्यक्ष लक्ष्मी पौडेल र सानी मोक्तान, हेटौंडा नगर अध्यक्ष कुसुम श्रेष्ठसहित विभिन्न स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.