वृद्धवृद्धा र अशक्त खोज्दै वडाध्यक्ष पुग्दैछन् घरदैलोमा

मकवानपुर । पश्चिम मकवानपुरको विकट गाउँ राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबा जेष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई सेवा दिन घरदैलोमै पुगेका छन्।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नागरिकको विवरण अद्यावधिक गर्न वडाबासीहरू खोज्दै वाइबा छिमेकी गाउँ, पालिका हुँदै छिमेकी जिल्ला चितवनसम्म पुगेका हुन्। गाउँबस्तीबाट शहरतिर बसाईँ सरेका तर मतदाता विवरण पुरानै वडामा रहेको कारण भत्ता अद्यावधिकमा समस्या हुने देखिएपछि उनले यस्तो पहल गरेका हुन्।

‘वडाका केही मानिस चितवनतिर छन्, केही मनहरीमा छन्,’ वडाध्यक्ष वाइबाले भने, ‘गाउँ आउन नसक्ने भएकाले हामी नै उनीहरूकै घरमा पुगेर सेवा दिइरहेका छौँ।’

उनले वडा कार्यालयका कर्मचारीहरू सहित सेवा प्रदान गर्ने अभियान सुरु गरेका छन्। बुधबारदेखि सुरु भएको यो अभियान आइतबारसम्म चल्ने छ। हालसम्म ५० जना जेष्ठ नागरिक र अशक्त व्यक्तिहरूको विवरण घरमै पुगेर संकलन गरिने योजना छ।

वडाध्यक्ष वाइबाको यो कामलाई स्थानियबासीले खुलेर सराहना गरेका छन् भने सामाजिक सञ्जालमा समेत उनको प्रशंसा गरिएको छ।

राक्सिराङ गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले यहाँका केही वडा हेटौँडा र मनहरी बजारसँग जोडिएका छन् भने केही वडा पुग्न चितवनको राप्ती नगरपालिका हुँदै जानुपर्छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल भन्छन्, ‘वडाध्यक्षले थालेको अभियान सकारात्मक छ। यसले वृद्धवृद्धा र अशक्तलाई राहत दिएको छ। सेवा घरमै पुग्दा सम्बन्ध पनि बलियो हुन्छ।’

यो पहलले स्थानीय सरकार नागरिकसम्म पुग्न सक्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.