हेटौँडा । हालै सम्पन्न जेन-जी समूहको आन्दोलनका क्रममा क्षति पुगेका हेटौँडा उपमहानगरपालिका–४ सहित अन्य वडाहरू पुनः सेवा प्रवाहमा फर्किएका छन्। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ४ नम्बर वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपनि, बुधबारदेखि सेवा पुनः सञ्चालनमा आएको छ।
वडाध्यक्ष नवीन सिग्देलका अनुसार, भदौ २३ र २४ गतेको आन्दोलनमा कम्प्युटर ५ थान, स्क्यानर र प्रिन्टर ७ थान, ल्यापटप २ थान, मोटरसाइकल १ थान लगायत कार्यालयका फर्निचर र बायोमेट्रिक मेसिन जलेर नष्ट भएका छन्। साथै प्रशासन, लेखा र योजना शाखाका सबै कागजातहरु पनि पूर्ण रूपमा नष्ट भएका छन्।
वडाध्यक्ष सिग्देलले भने, “शून्य अवस्थाबाट सुरु गरेका छौँ, तर न्यूनतम स्रोत जुटाएर सेवा पुनः सुरु गरेका छौँ। जस्तोसुकै संकटमा पनि एकढिक्का भएर अगाडि बढ्ने हो।”
आन्दोलनले हेटौँडाका वडा नं. ३, ४, ११ र १९ को सेवा प्रवाहमा असर पारेको थियो। यसै सन्दर्भमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाले प्रभावित वडाहरूलाई कम्प्युटर हस्तान्तरण गर्दै सहयोग पुर्याएको छ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडाध्यक्षहरूसहित स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले सेवा सहज र नियमित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।










