हेटौंडा । लागुऔषध प्रयोगकर्ता र मानव अधिकारका सन्दर्भमा बिहीबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रिकभरीङ नेपाल, बागमती प्रदेशको आयोजनामा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयमा बिहिवार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा देश तथा प्रदेश स्तरमा लागुऔषध प्रयोगको अवस्था, पुनर्स्थापना केन्द्रहरूको पहुँच, युवा महिला तथा पुरुष प्रयोगकर्ताहरूका समस्या र चुनौतीबारे व्यापक छलफल गरिएको थियो। रिकभरीङ नेपालका केन्द्रिय सदस्य सौजन डिसीका अनुसार, सहभागीहरूलाई वास्तविक तथ्यांक र चुनौतीहरूसँग अवगत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
डिसीले रिकभरीङ नेपालले हालसम्म गरेका कार्यहरू, नीति सुधारका प्रयासहरू र दीर्घकालीन योजनाबारे जानकारी दिँदै, आगामी दिनमा अधिकार प्रवर्द्धनका लागि सहकार्य र सूचना आदानप्रदान प्रणालीलाई अझ सशक्त बनाउने योजना रहेको बताए।
कार्यक्रममा प्रहरी नियन्त्रण, गैरकानुनी थुनामुनी, दुर्व्यवहार, स्वास्थ्य सेवामा पहुँचको अभावजस्ता मानव अधिकारसम्बन्धी प्रमुख चुनौतीहरूबारे छलफल गरिएको थियो।
राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंले, बैठकमा उठाइएका विषयहरू कार्यान्वयनमा लैजान आयोग प्रतिबद्ध रहेको बताए। “अहिले कार्यान्वयनको बाटोमा कतिपय कानुन नभएका वा कार्यान्वयन नभएको स्थिति छ,” उनले भने, “आयोगले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र समन्वय गर्न तयार छ।”
कार्यक्रममा सहभागी सरोकारवालाहरूबीच सहकार्य विस्तार र सुधारात्मक कदमका लागि सुझाव आदानप्रदान गरिएको थियो।










