पदमपोखरीका पौरखी कृषक बुद्धि भोम्जन: ड्रागन फ्रुटले दिलायो समृद्धिको स्वाद

हेटौंडा । “दुख गरे आफ्नै माटोमा छ,” भन्ने पदमपोखरी–१२, हेटौंडाका युवा कृषक बुद्धि भोम्जन अहिले आफ्नो अनुभवबाटै प्रमाणित गरिरहेका छन्। पाँच वर्षअघि सानो सुरुवातबाट सुरु भएको उनको ड्रागन फ्रुट खेतीले आज उनलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि परिचित बनाएको छ।

घर पछाडिको खाली बारीलाई सदुपयोग गर्ने सोचबाट सुरु भएको यो यात्रा आज एक सफल व्यवसायिक कृषि फार्ममा परिणत भएको छ। उनले स्थापना गरेको ‘सिन बहुउद्देश्यीय कृषि फार्म’ अहिले हेटौँडाको चर्चित कृषि फार्ममध्ये पर्छ। ड्रागन फ्रुटबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका भोम्जनले आफ्नो डेढ बिगाहा जग्गामा अन्य फलफूल तथा बालीहरू समेत उत्पादन गरिरहेका छन्।

सहुलियत कर्जाको उपयोग गरी दुई चरणमा सुरु गरिएको ड्रागन फ्रुट खेतीले पहिलो वर्षमै एक बोटबाट एक किलो फल दिएको थियो। “त्यही पहिलो फलले मलाई आशावादी बनायो,” उनी सम्झन्छन्, “त्यसपछि मैले यो बाटो नै रोजें।”

उनले करिब ४ हजार बोट ड्रागन फ्रुट, २० बोट एभोकार्डो, २ सय भन्दा बढी उन्नत जातका मेवा, सुन कागती, अकबरे खुर्सानी, भटमास र केही बोडी समेत लगाएका छन्। आउँदो वर्षदेखि अन्जिर र खजुर खेतीको तयारीसमेत भइरहेको उनले जानकारी दिए।

१२ जनाको ठूलो परिवार भएकोले काममा परिवारका सदस्यहरूको सक्रिय सहभागिता रहेको छ। “परिवारकै सहकार्यले गर्दा बाहिर कामदार राख्न नपरेको र आम्दानी पनि राम्रो भएको छ,” उनी भन्छन्।

त्यसैगरी, फार्ममा उत्पादन हुने गड्यौला मल आफैं बनाउने, ड्रागन फ्रुटको बिरुवा उत्पादन तथा बिक्री गर्ने, र सडक छेउमै रहेको घरबाट नै फलफूल बिक्री गर्ने व्यवस्था गरेका छन्। अहिले बजारको माग अनुसार उत्पादन पुर्‍याउन नसकिरहेको अवस्थासमेत छ।

भोम्जन अहिले केवल एक सफल कृषक मात्र होइनन्, उनीसँग प्राविधिक ज्ञान पनि छ। “मलाई जसलाई आवश्यक छ, म प्राविधिक सहयोग गर्न तयार छु,” उनी गर्वका साथ भन्छन्।

फार्म हेर्न आउने पाहुनालाई पाकेको ड्रागन फ्रुट काटेर सत्कार गर्ने परम्परा बनिसकेको छ। “पदमपोखरी अहिले पौरखी कृषकको पहिचान बनाउन सफल भएको छ, म यस्तो पहिचानका वाहक बन्न पाएकोमा गर्व गर्छु,” उनी भन्छन्।
बुद्धिको सफलताको कथा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो। उनले प्रमाणित गरेका छन्— मेहनत, दृष्‍टि र समर्पण भए माटोमै सुन फल्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.