हेटौंडा। उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सोमबार बिहान मिथिला तथा तराईसहित देशभर चार दिनसम्म चल्ने छठ पर्व विधिपूर्वक सम्पन्न भएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व सप्तमी तिथिसम्म विविध विधि–विधानका साथ मनाइन्छ। पहिलो दिन व्रतालुहरूले शुद्ध स्नान गरी चोखो भोजन ग्रहण गर्दै व्रत सङ्कल्प लिने परम्परालाई “नहाय–खाय” भनिन्छ।
दोस्रो दिन अर्थात् पञ्चमीका दिन व्रतालुहरूले दिनभर निराहार रही बेलुकी सख्खरयुक्त खीर प्रसादका रूपमा ग्रहण गर्दै “खरना” गर्ने गर्छन्। त्यसपछि षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै पर्वको समापन गरिएको हो।
छठ पर्वलाई सूर्यदेव र छठी मइया प्रति आस्था, कृतज्ञता र शुद्धताको प्रतीकका रूपमा लिइन्छ।
प्रतिकृया दिनुहोस्










