हेटौँडा । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (साउन, भदौ र असोज) मकवानपुरमा ६१ जना महिला तथा पुरुष लैङ्गिक हिंसाको शिकार भएका छन् ।
हेटौँडा अस्पतालस्थित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी), मकवानपुरको तथ्याङ्क अनुसार यीमध्ये ५९ जना महिला र २ जना पुरुष रहेका छन् ।
केन्द्रका अनुसार ती ६१ जनामध्ये जबर्जस्ती करणीका २२, यौनजन्य हिंसाका ६, शारीरिक हिंसाका १२, जबर्जस्ती विवाह (बेचबिखन) का ८, घरेलु हिंसाका २, मानसिक हिंसाको १ र अन्य १० घटना रहेका छन् ।
पीडितमध्ये २६ जना गाउँपालिका क्षेत्रका, ३१ जना नगरपालिका क्षेत्रका र ३ जना अन्य स्थानका रहेको केन्द्रले जनाएको छ ।
केन्द्रकी सीएनमी अधिकृत अमृता कुमारी श्रेष्ठका अनुसार, यस अवधिमा दुई जना पुरुष पनि हिंसाको शिकार भएका छन् — जसमा एकजना पुरुष अर्को पुरुषबाट बलात्कृत भएका र अर्को घटनामा पुरुषलाई बाँधेर कुटपिट गरिएको छ ।
श्रेष्ठका अनुसार, “हामीकहाँ सबैभन्दा बढी जनजाति समुदायका पीडितहरू आउने गरेका छन् । यौनजन्य हिंसामा पर्ने मध्ये धेरैजसो ० देखि १० वर्षका बालबालिका र जबर्जस्ती करणीका अधिकांश १५ देखि १८ वर्ष उमेर समूहका किशोरीहरू रहेका छन्।”
बढी जनसंख्या भएका कारण नगरपालिका क्षेत्रबाट बढी केस आउने गरेको पनि उनले बताइन् ।
श्रेष्ठका अनुसार, ओसिएमसी २४ घण्टा खुला रहने, र पीडितहरूका लागि निःशुल्क उपचार, परामर्श, र आवश्यकता अनुसार अन्य अस्पतालमा रिफर गर्दा यातायात खर्च समेत केन्द्रले बेहोर्ने व्यवस्था गरिएको छ ।
हेटौँडा अस्पतालमा ओसिएमसी सन् २०११ (२०६८ साल मंसिर १२ गते) देखि सञ्चालनमा आएको हो ।
केन्द्रले सबै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति, जोखिममा रहेका बालबालिका, अपाङ्गता भएका महिला, एकल महिला, जेष्ठ नागरिक महिला, द्वन्द्व वा प्राकृतिक विपदबाट प्रभावित महिला तथा बालबालिका, साथै एचआईभी/एड्स संक्रमित महिलाहरूलाई लक्षित काम गर्दै आएको छ ।
श्रेष्ठका अनुसार, “लैङ्गिक हिंसाबाट प्रभावित भएर मानसिक, शारीरिक वा सामाजिक संकटमा परेका व्यक्तिहरूलाई तत्काल उद्धार, उपचार, कानुनी सहयोग र पुनःस्थापनाको व्यवस्था यही केन्द्रमार्फत् उपलब्ध गराइन्छ।”










