भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल सम्मानपूर्वक अवकाश

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का प्रधानाध्यापक माधवप्रसाद दाहाल उमेर हदका कारण सेवाबाट अवकाश प्राप्त भएका छन्। विद्यालयले आइतबार एक समारोहबीच उनको बिदाइ गरेको हो।

गत शनिबारदेखि ६० वर्षे उमेर सीमा पूरा भएपछि अनिवार्य अवकाशमा पुगेका दाहाललाई विद्यालय परिवारले सम्मानपूर्वक बिदाइ गरेको हो। दाहालको अवकाशपछि विद्यालयका सहायक प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकिएको छ। सो अवसरमा नव–नियुक्त निमित्त प्रधानाध्यापक घिमिरेको स्वागत पनि गरिएको थियो।

दाहाल सन् १९९१ (२०४८ जेठ ५) मा गणित विषयका शिक्षकका रूपमा भुटनदेवी माविमा सेवा प्रवेश गरेका थिए। उनले करिब ३५ वर्षसम्म विद्यालयमा अध्यापन तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाले। सन् २००६ (२०६३ साल) मा स्थायी नियुक्ति प्राप्त गरेका दाहाल २०६७ साल कात्तिक ७ गतेदेखि विद्यालयका प्रधानाध्यापक बनेका थिए।

उनको नेतृत्वकालमा विद्यालयले उल्लेखनीय प्रगति गरेको विद्यालय प्रशासनले जनाएको छ। सन् २०१३ (२०७० साल) देखि साधारण धारसँगै प्राविधिक शिक्षाको पढाइ सुरु गरिएको थियो। हाल विद्यालयमा करिब २४ सय विद्यार्थी अध्ययनरत छन्, जसमा साधारण र प्राविधिक दुवै धारका विद्यार्थी समावेश छन्।

बिदाइ कार्यक्रममा बोल्दै दाहालले विद्यालयप्रतिको गहिरो माया प्रकट गर्दै भने, “विद्यालय मेरो मुटु हो, यसप्रति माया राख्नुहोस् र यसको शैक्षिक विकासमा निरन्तर योगदान दिनुहोस्।” उनले विद्यार्थी संख्या वृद्धि भएकाले गुणस्तरीय शिक्षामा अझ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। साथै, अवकाशपछि पनि आफू शिक्षाक्षेत्र र सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष तथा भुटनदेवी अल्मुनाई एसोसिएसनका अध्यक्ष विष्णु गोपाल महर्जन, विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे, श्रमिक माविका प्रधानाध्यापक तथा वडा ४ का शैक्षिक गुणस्तर सुधार समिति संयोजक श्रीराम दाहाल, पूर्वप्रधानाध्यापक देव श्रेष्ठ लगायतले दाहालको योगदानको प्रशंसा गर्दै उनको अवकाशपछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईं, विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति सदस्य तथा स्थानीय शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.