छ वर्षपछि एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ हेटौँडाबाट सुरु हुँदै

हेटौँडा। छ वर्षको अन्तरालपछि एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता पुनः सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिग बुधबार (मंसिर ५) देखि हेटौँडामा सुरु हुने भएको हो।

सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए। उनका अनुसार देशका विभिन्न जिल्लाबाट दश टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी क्लबहरूमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काङ्क्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) रहेका छन्।

लिग प्रतियोगिता लिग–कम–नकआउट ढाँचामा सञ्चालन हुनेछ। सबै खेल हेटौँडा–६ स्थित गौरीटार रंगशालामा हुनेछन्। प्रतियोगिता मंसिर २ गतेसम्म चल्नेछ र सेमिफाइनलमा पुग्ने चार टोली राष्ट्रिय लिगका लागि छनोट हुनेछन्।

एन्फाका अनुसार विजेता टोलीले रु. १० लाख, उपविजेताले रु. ५ लाख प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनका लागि करीब रु. १ करोड ५४ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ।

एन्फा प्रवक्ता शाहले प्रेसिडेन्ट लिगलाई स्थानीय क्लबहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिलाउने अभियानको निरन्तरता भन्दै आगामी वर्षदेखि यो लिगलाई नियमित रुपमा आयोजना गर्ने योजना रहेको बताए।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.